पत्रकार केशु विरहीको तेह्रथुमको साहित्यिक इतिहास नामक कृति सार्वजनिक


काठमाडौँ । पत्रकार तथा साहित्यकार केशु विरहीको अनुसन्धानात्मक कृति तेह्रथुमको साहित्यिक इतिहासको लोकार्पण कार्य सम्पन्न भएको छ । एपेक नेपालको आयोजनामा, नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादी, काठमाडाैमा सम्पन्न कार्यक्रममा विरहीको पछिल्लो नवौँ कृत्तिको लोकार्पण गरिएको हो ।

लोकार्पणपछि कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहरी विकास मन्त्री सीता गुरुङले साहित्यिक कृति त्यसमा पनि अनुसन्धानात्मक लेख्न निकै कठिन हुने बताउँदै तेह्रथुमको साहित्यिक इतिहासले तेह्रथुमलाई चिनाउन मद्दत पुग्ने बताइन् । एउटा महत्त्वपूर्ण कार्य सम्पन्न गरेकामा लेखकलाई बधाई तथा शुभकामना दिइन् ।

तेह्रथुम जिल्लाकी सङ्घीय सांसदसमेत रहेकी गुरुङले सबैले जसले जे जानेको छ आआफ्नो ठाउँबाट लागिपरेमा तेह्रथुमको विकासमा ठुलो परिवर्तन आउने पनि बताइन । यस कृतिले तेह्रथुमलाई विश्वभर चिनाउनमा ठुलो सहयोग रहने छ र यो ऐतिहासिक कृतिले अझ ठुलो इतिहास बनाउने बत्ताइन । त्यसै गरी कार्यक्रममा प्राध्यापक डा.खगेन्द्रप्रसाद लुइँटेलले यस किताबमा तेह्रथुमको साहित्यिक इतिहासको फेहरिस्त भएको बताए । इतिहास लेखन कहिल्यै पनि पूर्ण नहुने बताउँदै छुटेका कुरालाई थप्दै जानू पर्ने बताए । उनले पाठकलाई यस कृतिमा देखिएका कमीकमजोरीलाई औँल्याइदिन पनि आग्रह गरे ।

त्यसै गरी कार्यक्रममा आफ्नो सङ्क्षिप्त टिप्पणी प्रस्तुत गर्दै नारी स्रष्टा समाज नेपालकी अध्यक्ष तथा साहित्यकार ममता मृदुलले यस कृतिले तेह्रथुमको साहित्यको मात्र नभएर त्यहाँ बस्ने मानिसको समेत सफा चित्र उतारेको बताइन् । कार्यक्रममा बोल्दै लेखक तथा अन्वेषक भगिराज इङनामले यस कृतिले एउटा क्याटलककाे काम गरेको बताए । पाठकले आफूलाई के मन पर्छ त्यही यस पुस्तबाट छानेर पढ्न सक्ने बताए ।

कार्यक्रमका सभापति तथा एपेक नेपालका अध्यक्ष विश्वमोहन श्रेष्ठले किताबको नामले नै धेरै कुरा बोलिसकेकाले यसका बारेमा धेरै कुरा गर्न जरुरी नभएको बताउँदै कृतिका बारेमा समय मिलाएर चर्चा परिचर्चा कार्यक्रम राखिनु पर्ने पनि बताए । लेखक केशु विरहीले आफूले यो कृति लेख्नकै लागि भनेर डेढ वर्षको पूरै समय खर्चेको बताउँदै थालेको काम सफल भएकामा खुसी व्यक्त गरे । पत्रकारेसमेत रहेका विरहीले प्रिबुकिझमार्फत् यो अभियान पूरा गर्न सहयोग गर्नेप्रति आफू आभारी रहेको बताउँदै धन्यवादकाे असली हकदार आफूभन्दा उहाँहरू रहेको बताए । कार्यक्रममा स्वागत मन्तव्य कवि तथा गजलकार बाबु त्रिपाठीले गरेका थिए भने कार्यक्रमको सञ्चालन सेसेमी लिम्बुको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्