जब जिल्ला अस्पतालमा मुख्यमन्त्री छिरे…..


उदयपुर । कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकालाई गत माघ १५ गतेबाटै निःशुल्क उपचारको प्रबन्ध गरिसकेको छ । प्रदेश सरकारले उपचारका लागि पहिलो सम्पर्क अस्पताललाई प्रदेश मातहतका सबै अस्पतालका साथै, कोशी अस्पताल विराटनगर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्थानीय तह मातहतका सबै अस्पताललाई तोकेको छ ।

बालबालिकालाई निःशुल्क उपचार गराउन पहिलो सम्पर्क अस्पतालमा जानुपर्दछ, त्यहाँबाट प्रेषण गर्नू परेमा प्रदेश सरकारले तोकेका अस्पतालमा लैजान सकिन्छ । यही सेवाको अनुगमनका लागि कोशीका मुख्यमन्त्री केदार कार्की मङ्गलवार जिल्ला अस्पताल उदयपुर पुगे । बच्चाका वार्डमा पुग्दा आफूले बाहिरबाटै औषधि ल्याउने गरेको र निःशुल्क उपचारका बारेमा आफूलाई जानकारी नभएको सेवाग्राहीको गुनासो सुने ।

छड्के अनुगमनमा पुगेका मुख्यमन्त्री कार्कीले अस्पतालको सरसफाइ लगायत विभिन्न वार्डहरूको अनुगमनमा सन्तोषजनक अवस्था नदेखिएपछि अस्पताललाई तुरुन्त व्यवस्थित गरी सरकारले कार्यान्वयनमा ल्याएका योजनाहरू तुरुन्त लागु गर्न निर्देशन दिएका छन् । ‘सरकारका योजना कार्यान्वयनमा नल्याउने अस्पतालहरूलाई हामी कारबाही गर्छौ, उनले भने, कोशी प्रदेशको कोही पनि १० वर्ष भन्दा कमको बच्चा बिरामी भएमा उपचार सेवाबाट वञ्चित नहुन् ।’

जिल्ला अस्पताल उदयपुरका मेसु डा.ज्ञानेन्द्र झाले सरकारको योजना कार्यान्वयनका लागि आन्तरिक व्यवस्थापन गरिरहेको बताए ।‘हामी आन्तरिक तयारीमा छौँ, व्यवस्थापन भइरहेकाले केही दिनबाटै निःशुल्क उपचारको सेवा सुरु गर्छौ उनले मुख्यमन्त्रीलाई ब्रिफिङ गराउँदै भने ।’

 

मुख्यमन्त्री कार्कीले आउने सेवाग्राहीलाई सहज बनाउन अस्पतालका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । ‘सेवाग्राहीलाई हरेक कुरा थाहा नहुन सक्छ, तपाईँहरूले थाहा दिनुपर्दछ कोशी प्रदेशका हरेक नागरिकले तिरेको करको सदुपयोग हुनुपर्छ । प्रदेशका बालबालिकाले उपचार पाउनुपर्छ ।’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्