एकै व्यक्तिद्वारा २५ वटा मोटरसाइकल चोरी !


मिलन के राउत – उर्लाबारी । मोटरसाइकल चोरी गरेको आरोपमा उर्लाबारी प्रहरीले पक्राउ गरी मुद्दा चलाएको व्यक्तिलाई मोरङ जिल्ला अदालतले कैद सजाय निर्धारण गरेको छ । नेपाल र भारतका विभिन्न स्थानबाट स्कुटर र मोटरसाइकल गरी करिब २५ वटा सवारीसाधन चोरी गर्ने आफुलाई सन्तोष थापा बताउने मनिकुमार तामाङलाई चार महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको हो ।

यस्तै, स्कुटर चोरीसम्बन्धी मुद्दामा उनलाई छुट्टै एक लाख रुपैयाँ धरौटी माग गरिएको छ । चोरीमा संलग्न तामाङले एक जना बालक लिएर हिँड्ने, मानिसहरूको विश्वास जितेर सवारीसाधनको रेकी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो । उनले विभिन्न मितिमा २५ वटा बाइक तथा स्कुटर चोरी गरेको स्वीकारेको उहाँले जानकारी दिनुभयो । तामाङलाई गत पुष २१ गते नियन्त्रणमा लिइएको हो । प्रहरी निरीक्षक दासका अनुसार मोरङको मिक्लाजुङ ३ धोबेनीका गोपाल तामाङको को ३८ प ११०५ पल्सर मोटरसाइकल चोरी गरी लैजाने क्रममा उनी पक्राउ परेका थिए ।

यसअघि विभिन्न मितिमा सवारी साधन चोरी गरेको उनले क्रमैसँग बयान दिएका थिए । भारत दार्जिलिङ फासिदेवान बस्ने दुर्गा तामाङको नम्बर याद नभएको मोटरसाइकल १ थान, मोरङ मिक्लाजुङ ९ का सन्देश मगरको टिभिएस कम्पनीको स्कुटर १ थान, इलाम दानाबारीमा होटेलको पार्किङ स्थलबाट चोरी गरेको स्कुटर १ थान, भारतका विभिन्न स्थानबाट मोटरसाइकल ५ थान मोटरसाइकल चोरी गरेको तामाङले बयानमा खुलाएका थिए ।

उनलाई झापा मेचीनगर ११ का मनबहादुर लामाको आई फोन ८ चोरी गरेको आरोप पनि छ । मोरङ बेलबारी नगरपालिका ४ स्थायी ठेगाना भएका तामाङले भारतको पश्चिम बंगालस्थित बागडोग्रामा डेरा लिइ नेपाल भारत दुवैतर्फ आपराधिक गतिविधि सञ्चालन गर्दै आएको प्रहरीको मुद्दा अभियोजनमा उल्लेख छ । तामाङको साथबाट दुई वटा मोटरसाइकल र एक थान स्कुटर उर्लाबारी प्रहरीले बरामद गरिसकेको छ । शृंखलाबद्ध रूपमा मोटरसाइकल चोरी भएका र ति घटनामा अन्य व्यक्ति पनि संलग्न हुनसक्ने भन्दै अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक दासको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्