बेलबारी साहित्य विकास समितिको अध्यक्षमा रमेश निरौला : केशु र गणेश सम्मानित


बेलबारी । बेलबारी साहित्य विकास समितिको अध्यक्षमा रमेश निरौला निर्वाचित भएका छन् । शनिवार बेलबारी नगरपालिका वडा नं.३ स्थित बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न छैटौँ साधारण सभाबाट निरौला अध्यक्ष भएका हुन ।

उपाध्यक्षद्वयमा लक्ष्मी रेग्मी सुवेदी र गोविन्दराज चोङवाङ, सचिवमा उमा सिजापति, सहसचिवमा विमला सुवेदी तिम्सिना, कोषाध्यक्षमा शिव पराजुली सहयात्री र सहकोषाध्यक्षमा राजु परियार निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा विष्णु भण्डारी, रिपुमर्दन खड्का, मुना मिश्रा, लीला सुवेदी, कृतिका खतिवडा, तारा चम्लागाईँ, सन्देश तामाङ र राजकुमार राई रहेका छन् । लेखा संयोजकमा तीर्थराज सिग्देल साथै सदस्यमा शिव छाङ्छा राई र शारदा दाहाल चयन भएका छन् ।

उक्त साधारण सभाको अवसरमा ४७ जनाको संयुक्त कविता सङ्ग्रह ‘निहारिका’, तिला लेकालीको कविता सङ्ग्रह ‘खुर्पे जून’ र धनजित पराजुलीको कविता सङ्ग्रह ‘कोभिड नाइन्टिन’ को संयुक्त रूपमा लोकार्पण भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व सांसद हर्कमान तामाङद्वारा तिन कृती लोकार्पण गरिएको हो ।

बेलबारी साहित्य विकास समितिले कविता सङ्ग्रह लोकार्पणको साथै ‘बेलबारी साहित्य पुरस्कार’ र ‘बेलबारी कला पुरस्कार’ बाट दुई जनालाई सम्मान गरिएको छ । नगद रु.२५ हजार सहित बेलबारी साहित्य पुरस्कारबाट केशु विरही र रु.१५ हजारसहित बेलबारी कला पुरस्कारबाट ललितकलाकार गणेश लामा ‘आँसु’ सम्मानित भएका हुन ।

साधारण सभाको अवसरमा ‘बालकविता तारा’ कविता प्रतियोगिता पनि गरिएको थियो । प्रथम भएकी वीरेन्द्र मावि, बेलबारी–६ की छात्रा भावना तामाङले रु. ५ हजार, दोस्रो भएकी कसेनी मावि, बेलबारी–४ का छात्र सोलोमन राईले रु.४ हजार, तेस्रो भएकी मोरङ चिनारी, बेलबारी–२ की छात्रा जेनिसा कार्कीले रु.३ हजार र जनता मा.वि बेलबारी–१ की छात्रा मनिका बरालले सान्त्वना नगद पुरस्कार रु. १ हजार प्राप्त गरेकी छिन । कार्यक्रमको सञ्चालन सचिव धनजित पराजुलीले गरेका थिए भने तिला लेकालीको अध्यक्षता सम्पन्न भएको हो । लेकालीले संस्थामा साहित्यिक क्षेत्रको उत्थानको लागि रु.५० हजार सहयोग प्रदान गर्ने घोषणा गरेकी छिन ।

 

प्रतिक्रिया दिनुहोस्