नेपालको क्यानडाविरुद्ध ४ विकेटको जित


काठमाडौँ । नेपालले क्यानडाविरुद्ध लगातार दोस्रो जित हासिल गरेको छ । शनिवार सम्पन्न दोस्रो खेलमा नेपालले क्यानडालाई ४ विकेटले पराजित गरेको हो । क्यानडाले दिएको २८६ रनको लक्ष्य पछाएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ८७ रन बनाएका थिए भने देव खनालले ७६ रन बनाएका थिए । त्यस्तै अनिल शाहले १९ बलमा ५० रन बनाउँदै नेपालबाट सबैभन्दा कम बलमा अर्धसत्तक बनाउने नयाँ रेकर्ड बनाएका छन् । यस अघि असिफ सेखले २१ बलमा अर्धसत्तक बनाएको रेकर्ड थियो ।

त्यस्तै भीम सार्कीले २३, पवन सराफले १४, आसिफ सेखले १० रन बनाएर आउट भएका थिए भने कुशल मल्लले अविजित ९ र सोमपाल कामीले अविजित ९ रन बनाएका थिए । त्यसै गरी क्यानडाका बलरहर्ष ठाकेर र इश्वोरजोत सोहिले २–२ विकेट लिएका थिए भने साद बिन जाफर र दिलप्रित बाज्वाले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै क्यानडाले ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । क्यानडाका लागि आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए भने नवनीत धालिवालले ४६ रन बनाएका थिए । त्यसै गरी परगत सिंहले ३८, श्रेयस मोभ्भाले ४०, निकोलस किर्तन र उदय भागवानले २०–२० तथा दिलप्रति बाजवाले १९ रन बनाएका थिए ।

त्यसै गरी नेपाली बलर कुशल मल्ल र कप्तान रोहित पौडेलले २–२ विकेट लिएका थिए भने सोमपाल कामी, आकाश चन्द, सूर्य तामाङ र पवन सराफले एक एक विकेट लिएका थिए । यो जितसँगै नेपालले क्यानडाविरुद्धको ३ खेलको सिरिजमा २–० ले अगाडी रहेको छ र सिरिज जितेको छ । अब सिरिजको अन्तिम खेल आगामी सोमबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्