त्रिभुवन विमानस्थलमा आन्तरिक टर्मिनलमा यात्रुको चाप


काठमाडौँ, १ मंसिर । त्रिभुवन विमानस्थलमा आन्तरिक हवाई उडान ढिलो हुँदा टर्मिनलमा यात्रुको चापले समस्या भएको छ ।

अधिकांश एयरलाइन्सका उडान समयमा सुरु नभएकाले डेढ–दुई घण्टासम्म उडान ढिला हुँदा आन्तरिक टर्मिनलमा यात्रुहरूको घुइँचो हुने भएको छ । विमान कम्पनीहरूले बिहान कुहिरो लागेकाले उडान ढिलो हेर्दा पछिल्ला उडानहरूमा पनि प्रभाव परेको दाबी गरेका छन् ।

मौसमविद वरुण पौडेलले भने, ‘हवाई उडान नै रोकिने गरी बाक्लो हुस्सु कुहिरो अझै सुरु नभएकोले बिहान हलका कुहिरो लागे पनि एकैछिनमा उडेर गइहाल्छ ।’
एयरलाइन्सका कर्मचारीहरूले यात्रुहरूलाई यही मौसम अनुकूल नभएकाले उडान ढिलो भएको जवाफ दिने गरेका छन् । मौसमविदका अनुसार नेपालमा सामान्यतया डिसेम्बर महिनाको मध्यदेखि र जनवरी महिनाभर हुस्सु लाग्ने, शितलहर चल्ने र बढी जाडो हुने गर्छ ।

आज नोभेम्बर महिनाको १७ तारिख हो । त्यसैले अझैसम्म हवाई उडान नै प्रभावित हुने खालको मौसमी प्रणाली देशभर कतै पनि विकसित नभएकोले ‘तापक्रम अहिले पनि १०–११ डिग्री सेल्सियस छ । शितलहर चल्ने बाक्लो हुस्सु लाग्ने बेलामा तापक्रम २–३ डिग्रीसम्म पुग्छ, त्यति बेला पश्चिमतिरबाट पानी पर्ने हुनाले समस्या हुने पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्