धनकुटामा प्रेस चौतारीद्वारा बिरामीलाई फलफूल वितरण : कार्यालय पनि उद्घाटन


धनकुटा, २२ माघ । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसर पारेर सोमबार धनकुटामा बिरामीलाई फलफूल वितरण र प्रेस चौतारी धनकुटाको कार्यालय उद्घाटन गरिएको छ । स्थापना दिवसको अवसरमा प्रेस चौतारी धनकुटाले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको हो ।

अस्पतालको इमर्जेन्सी र वार्डमा भर्ना भएका बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै स्याउ, सुन्तला, अङ्गुर, फ्रुटी लगायत वितरण गरिएको प्रेस चौतारी धनकुटाका अध्यक्ष रबिन कटेलले जानकारी दिए । सो अवसरमा एमाले अध्यक्ष एवं प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, प्रेस चौतारीका केन्द्रीय सदस्य सन्तोष रुचाल, निर्वाचन आयोग सदस्य मानवी तामाङ, प्रदेश कमिटी सदस्य नारायणकुमार आठपहरिया, जिल्ला कमिटीका सल्लाहकारहरू भेषराज कटेल, रमेशचन्द्र अधिकारी, जिल्ला अध्यक्ष कटेल लगायतले बिरामीलाई फलफूल प्रदान गरे ।

पत्रकार महासंघका जिल्ला अध्यक्ष नगेन्द्र राई, उपाध्यक्ष विदुर खवास, सचिव हरीबहादुर लम्जेल, सहसचिव ईश्वर थापा, फोनिजका प्रदेश अध्यक्ष सन्तवीर लामा, जिल्ला अस्पतालका प्रमुख डा.अमिताभ ठाकुर लगायतले पनि बिरामीलाई फलफूल वितरण गरेका थिए ।

यसैबिच, स्थापना दिवसकै अवसर पारेर धनकुटा नगरपालिका–७ मा प्रेस चौतारी जिल्ला कमिटी धनकुटाको कार्यालय पनि उद्घाटन गरिएको हो । प्रेस चौतारीका केन्द्रीय सदस्य रुचाल र जिल्ला अध्यक्ष कटेलले संयुक्त रूपमा रिबन काटेर औपचारिक रूपमा कार्यालय उद्घाटन गरे ।

सो अवसरमा बोल्दै केन्द्रीय सदस्य रुचाल, सल्लाहकारद्वय अधिकारी, कटेल लगायतले कार्यालय उद्घाटन गरेर प्रेस चौतारी धनकुटाले सङ्गठनलाई थप व्यवस्थित बनाउने काम गरेको भन्दै सफलताको शुभकामना दिए । प्रेस चौतारी, पत्रकारहरूको अग्रणी सङ्गठन हो । धनकुटामा ५६ जना सञ्चारकर्मी प्रेस चौतारीमा आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्