बेलबारी ८ फाइनलमा प्रवेश : माघ २० गते १० नं. वडासँग भिड्दै (फोटो फिचर)


बेलबारी । बेलबारीमा जारी छैटौँ बेलबारी मेयर कपमा वडा नं.८ फाइनलमा पुगेको छ । आज बिहीबार बेलबारी १ स्थित नक्सल खेल मैदानमा सम्पन्न प्रतियोगिताको अन्तिम सेमिफाइनलमा वडा नं.८ ले ११ लाई टाईब्रकरमा पराजित गरेको छ ।

बेलबारी ८ का जर्सी नं.१० का खेलाडी विक्रम लिम्बुले खेलको ९ मिनेटमा गोल गरेका थिए भने पुनः ३१ मिनेटमा दोस्रो गोल गरेर पहिलो आफमा टिमलाई २ गोलको अग्रता दिलाएका थिए । पहिलो हाफमा गोल गर्न नसक्दा बेलबारी ११ दोस्रो हाफको सुरुवात दबाबमा रहनु परेको थियो ।

(बेलबारी ११ को फुटबल टिम)

खेलको ४८ मिनेटमा जर्सी नं.१६ का खेलाडी असीम गौतमले गोल फर्काए पछि भने बेलबारी ११ लाई राहत भएको थियो । ५१ मिनेटमा जर्सी नं.४ का खेलाडी शङ्कर राईले थप एक गोल गरेर खेल बराबरी भएको थियो ।

खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक भएको थियो । खेल बराबरी भए पछि टाईब्रकरले जितको निर्णय गरेको छ । बेलबारी ८ ले ६ गोल र बेलबरी ११ ले ५ गोल गरे । खेलको मेन अफ दि म्याच बेलबारी ८ का विक्रम लिम्बु घोषित भए । उनले ट्रफी, मेडलसहित रु.२ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

भोली (शुक्रवार) १९ गते जनप्रतिनिधि र कर्मचारीबिच मैत्रीपूर्ण खेल हुने नगर खेलकुद विकास समितिले जनाएको छ । २० गते हुने फाइनल खेलमा बेलबरी ८ र १० भिड्ने छ । प्रतियोगिताको विजेताले रु.१ लाख ११ हजार १ सय ११ र उपविजेताले रु.५५ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्