मोरङ जिल्ला फुटबल संघले भन्यो, ‘एन्फा नियम अनुसार गोल अन्तरको आधारमा निर्णय हुन्छ’


बेलबारी । बेलबारीमा जारी छैटौँ बेलबारी मेयर कपको लिग नियममा रहेको हेड टु हेटको अन्योलयतामा रहेको मोरङ जिल्ला फुटबल संघले प्रस्ट पारेको छ । संघले गोलको आधारमा नै खेलको निर्णय हुने जनाएको छ ।

अध्यक्ष विजय तोलाङ्गीका अनुसार हेड टु हेट विषयमा लागु गर्ने नगर्ने भन्ने अन्योलयता बढे पछि नगर खेलकुद विकास समितिले फुटबल संघलाई नियमबारे जानकारी गराउन निवेदन दिएका थिए । सोही निवेदनको जवाफमा संघले प्रतियोगितामा टिमको सम्मान अंक भए लिगमा एन्फाको नियमको आधारमा गोल अन्तरद्वारा निर्णय गरिने जानकारी पत्रमा उल्लेख गरेको छ ।


बेलबारी वडा नं.४ को टिमद्वारा निष्पक्ष खेलको लागि हेड टु हेट नियम लागु हुनु पर्ने माग रहेको थियो । मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जीव बुढाथोकीका अनुसार दुई टिमको अंक बराबरी भए गोल अन्तरको आधारमा एक टिम अघिल्लो चरण जान्छ । तर सो लिगमा तिन टिमको बिचमा सम्मान अंक भएमा मात्र तिन टिम बिच भएको खेलको आधारलाई मानेर जसको बढी गोल छ सो टिम अघिल्लो चरणमा जाने बुढाथोकीले बताए । हेड टु हेट नियम डबल लिगमा मात्र लागु हुने गरेको बुढाथोकीले जनाए । उनका अनुसार अहिले नेपालमा हेड टु हेट नियम लागु छैन ।

यसै नियमबारे मोरङ जिल्ला फुटबल संघले पठाएको नियम जानकारी पत्रसहित नगर खेलकुद विकास समितिले एन्फाको नियमलाई आधार मानेर खेल सञ्चालन भएको जानकारी पत्र ४ नं. वडा कार्यालयमा पठाएको अध्यक्ष विजयले जनाएको छ । विजयले बेलबारी ४ को आवाजलाई सम्मान गर्दै खेलको समीक्षासहित जारी छैटौँ बेलबारी मेयर कप सफल बनाउन सहयोग गर्न समेत आग्रह गरेका छन् ।

हिजो भएको पहिलो सेमिफाइनल खेलबाट बेलबारी १० फाइनलमा प्रवेश गरेको छ । आज (बिहीबार) बेलबारी वडा नं.१ को नक्सल खेल मैदानमा अन्तिम सेमिफाइनल वडा नं.८ र ११ बिच हुँदै छ । फाइनल खेल २० गते हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले रु.१ लाख ११ हजार १ सय ११ र उपविजेताले रु.५५ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्