´प्रदेश सरकारलाई माघ १७ गते प्रहरीको सङ्गठन संरचना हस्तान्तरण गर्ने`


विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँबरले प्रहरीको सङ्गठन संरचना माघ १७ गते निर्णय गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेको जानकारी गराएका छन् । मुख्यमन्त्री कार्कीलाई प्रहरी प्रधान कार्यालयमा सोमबार प्रहरी महानिरीक्षक कुँबरले प्रहरी समायोजनको विषयमा जानकारी गराएका हुन् ।

मुख्यमन्त्री कार्कीले प्रहरी समायोजनमा भइरहेको विलम्बका कारण बारे जानकारी लिएका थिए । ´प्रहरी समायोजनको प्रक्रिया अघि बढिसकेको र आउँदो १७ गते प्रहरी सङ्गठन संरचना हस्तान्तरण गर्ने तयारी छ,` उनले भने, ´प्रहरी समायोजनको बाँकी काम प्रक्रियागत रूपमा हुने भएकाले तत्काल सङ्गठन संरचना हस्तान्तरणको तयारी गरिएको हो ।`

संविधान प्रदत्त प्रदेशको शान्ति सुरक्षाको अधिकार प्रदेशले प्राप्त गरी संविधान कार्यान्वयन गर्नु सबैको दायित्व भएको मुख्यमन्त्री कार्कीको भनाइ थियो । ´सङ्घीय सरकारले प्रहरी समायोजन, कानुन निर्माणलगायतका प्रक्रिया पूरा गर्न ढिलाइ गरेकाले सङ्घीयताको पूर्ण कार्यान्वयन हुन नसकिरहेको अवस्थामा सङ्घीय सांसद तथा मन्त्रीहरूले नै प्रदेशले काम गर्न नसकेको भन्दै विरोध जनाइरहेको छ,` उनले भने, ´त्यसैले संविधान निर्माणका लागि सङ्घीय सरकार र संसद् इमानदारिता पूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नु आवश्यक छ ।`

काेशी प्रदेशका आन्तरिक मामिला तथा कानु नमन्त्री शम्शेर राईलगायत सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरूका काठमाडौँमा सम्पन्न भेलाले पनि तत्काल प्रहरी समायोजनका लागि सङ्घीय सरकारलाई ध्यानाकर्षण गराएका थिए ।

यसअघि बागमती प्रदेशको हेटौडामा सम्पन्न काेशीका मुख्यमन्त्री कार्कीलगायतका सात वटै प्रदेशका मुख्यमन्त्रीहरूका भेलाले तत्काल प्रहरी समायोजनलगायतका प्रक्रिया अघि बढाएर संविधान कार्यान्वयनका समन्वय र सङ्घर्ष गर्ने निर्णय गरेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्