पवित्र साकेला थानमा ‘अपवित्र काम’ : सार्वजनिक स्थलमा नारायण चाम्लिङको रजाइँ !


उर्लाबारी । उर्लाबारी ३ स्थित मङ्गलबारेमा किरात राई यायोख्खाको भोगाधिकार रहँदै आएको संरक्षित जग्गामा एक जना व्यक्तिले रजाइँ गरेका छन् । ती व्यक्तिले यायोख्खाको पवित्र साकेला थान स्थलमै पक्की संरचना बनाएर मनमौजी तरिकाले निजी निवाससहित होटेल तथा पसल सञ्चालन गर्दै आएका छन् ।

स्रोतका अनुसार साकेला थान यति बेला लागुऔषध दुर्व्यसनीहरूको अखाडाको रूपमा समेत परिचित छ । साकेला थानको संरक्षित स्थानलाई रेखदेख गर्ने बहानामा संस्थाकै पदाधिकारीमध्येका नारायण चाम्लिङले आफ्नो खेलोफड्को गर्ने आधार बनाएका हुन् । चाम्लिङ किराया उर्लाबारीका उपाध्यक्षसमेत हुन् ।

संस्थाले चर्चेको जग्गा व्यक्तिको कब्जामा रहनु गलत भएको किराँत समुदाय भित्रैबाट टीकाटिप्पणी सुरु भएपछि नारायण चाम्लिङको बचाउमा यायोख्खाले विज्ञप्ति नै जारी गरेको छ । नारायण चाम्लिङलाई संस्थाप्रति इमानदार, कर्तव्यनिष्ठ र वफादार रहेको भन्दै यायोख्खाले माघ १४ गते एक विज्ञप्ति जारी गरी उनीप्रति लागेको आरोपहरू पूर्ण रूपमा झुटो भएको उल्लेख गरेको छ । यद्यपि उनलाई जग्गा किन र के कति प्रयोजनका लागि सुम्पिएको भन्नेमा यायोख्खाले कुनै धारणा व्यक्त गरेको छैन ।

टेलिफोन सम्पर्कमा भने यायोक्खा उर्लाबारीका अध्यक्ष भीमबहादुर राईले संस्थागत निर्णय गरेरै १० वर्षका लागि नारायण चाम्लिङलाई जग्गा लिजमा दिएको बताएका छन् । ‘वनको जग्गा संरक्षित गर्ने नाममा यायोख्खाले भोगाधिकार लिने, फेरि तेस्रो व्यक्तिलाई सुम्पिन मिल्छ ?’ भन्ने प्रश्नमा अध्यक्ष राईले स्पष्ट कुनै प्रतिक्रिया जनाएनन् । उनले यति मात्रै भने, ‘रेखदेख गर्नेले जीविका चलाउन यसो तलमाथि त गर्छ नै !’

किरात राई यायोख्खाकै एक जना सदस्यले भने, ‘सबैभन्दा ठुलो समस्या भनेको तेस्रो पक्ष खडा भएको छ। उनलाई के आधारले जग्गा उपलब्ध गराइयो ? यायोख्खासँग कुनै सम्झौता गरेको छैन तर जग्गा उसैले कब्जा गरेर बसेको छ ।’ आर्थिक उपार्जनका लागि चाम्लिङलाई संस्थाको जग्गा कसरी र कुन तरिकाले प्रदान गरियो भन्दै उनले संस्थागत रूपमा चित्तबुझ्दो जवाफ नआउँदा आर्थिक चलखेलको आशङ्का पैदा भएको जनाए ।

साकेला थान एक हेक्टर क्षेत्रफलमा रहेको छ । प्राप्त जानकारी अनुसार यायोख्खाले साकेला थानको रेखदेखका लागि चाम्लिङलाई जिम्मा दिएको थियो । उनलाई त्यहाँ अस्थायी टहरो बनाएर बस्ने र दैनिक आइपर्ने सुरक्षासम्बन्धी काम गर्ने गरी जिम्मेवारी दिइएको थियो ।

चाम्लिङले संस्थाको कार्यादेश विपरीत आफ्नै पाखोवारि जस्तै गरी सागसब्जी लगाउने, घर बनाउने, कुखुरा, सुँगुर राँगा र भैँसी पाल्ने जस्ता काम गर्दै आएको पाइन्छ । यस्तै, संरक्षित वन क्षेत्रका रुख र बल्ला – बल्ली काट्ने फाँड्ने र तिनै दाउराले वर्षौँदेखि रक्सी पार्ने र बिक्री गर्ने गरेको समेत खुल्न आएको छ।

संस्थामा एक पैसा आम्दानी नबाँधेका चाम्लिङ नै स्वयं यायोख्खाको नगर उपाध्यक्ष हुनु दुःखद भएको ती सदस्य बत्ताउँछन् । साकेला थानको जग्गा सुरक्षाका लागि राखेको पदाधिकारीले नै संस्था भित्रका बोट बिरुवा काट्ने, गाँजा बेच्ने, रक्सी पारेर बिक्री गर्ने, गोठ बनाउने गरेपछि गुनासो कसलाई गर्ने ? भन्दै उनले दुखेसो पोखे ।

स्रोतको दोहन गर्ने, उपयोग गर्ने तर, आम्दानी नबाँध्ने गरेपछि यति बेला चाम्लिङलाई हटाएर नयाँ व्यक्तिलाई राख्नु पर्ने कुरा यायोख्खा भित्रै जोडतोडले उठेको छ ।

प्रतिक्रिया दिनुहोस्