अध्यागमनका अधिकृतलाई हातपात गर्ने प्रहरीलाई विमानस्थलबाट हटाइयो


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयभित्र अध्यागमनका कर्मचारीसँग झडपमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइएको छ । गत शुक्रवार विमानस्थलभित्र अध्यागमनका कर्मचारी र त्यहाँ खटिएका कर्मचारीबिचको विवाद हातपात भएको थियो । त्यसपछि ती प्रहरीलाई विमानस्थलबाट हटाइएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट्न आएका कर्मचारी सङ्गठनका नेताहरूलाई जानकारी दिएका हुन् ।

सङ्गठनका नेताहरूले कर्मचारीसँग कुटपिटमा उत्रिएका प्रहरीलाई तीन दिनभित्र कारबाही नगरे अध्यागमनसहित देशभर कामकाज ठप्प पार्ने चेतावनी गृहमन्त्रीलाई दिएका थिए । त्यसपछि गृहमन्त्री श्रेष्ठले डिएसपीसहितको कमाण्डका र कुटपिटमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइसकिएको जवाफ कर्मचारीका नेताहरूलाई दिएका छन् । कर्मचारी सङ्गठनका नेताहरूसँग गृहमन्त्री श्रेष्ठसहित गृहसचिव दिनेश भट्टराई, अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र विमानस्थल घटना छानबिन समितिको संयोजक एवम् गृहका सहसचिव थानेश्वर गौतम पनि सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस्