भगवती मा.विमा आधुनिक प्रविधि सम्बन्धी अन्तरक्रिया साथै आधुनिक बस अवलोकन कार्यक्रम सम्पन्न


बेलबारी । भगवती मा.वि, बेलबारी ३ को आयोजनामा आधुनिक प्रविधि सम्बन्धी अन्तरक्रिया साथै घुम्ती सूचना पहुँच केन्द्रको आधुनिक बस अवलोकन तथा जानकारी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम घुम्ती सूचना पहुँच केन्द्रको सहयोगमा सम्पन्न भएको हो ।

बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईले पनि उक्त आधुनिक बसको अवलोकन गरेका छन् । अवलोकन पछि आधुनिक प्रविधिको पहुँचमा सबै विद्यालयको विद्यार्थी भएमा मात्र विश्वमा नेपाललाई आधुनिकीकरण गर्न र समृद्ध बनाउन सकिने आशय व्यक्त गरेका छन् । शिक्षा क्षेत्रको विकासमा नगरपालिका सधैँ गम्भीर रहेको राईले बताए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा कार्यरत प्रदीप डोरारीले बसको अवलोकन गराएर जानकारी गराएका हुन । घुम्ने अभियानमा आधुनिक प्रविधिमा नेपालका धेरै ठाउँमा पहुँच नभएकाले घुम्ती सूचना पहुँच केन्द्रको आधुनिक बसले आधुनिक प्रविधिको शिक्षा प्रदान गर्न सहयोग पुगिरहेको बताए । बसभित्रै सेमिनार गर्न सकिने, भित्रै सिसि क्यामरा, ल्याप्टब, साउन्ड सिस्टम,एसी, प्रोजेक्टर सबै जडान गरिएका प्रविधियुक्त आधुनिक बस कोरिया सरकारको सहयोगमा तयार गरिएको प्रदीपले जानकारी दिए । बसमा शौचालय पनि भित्रै रहेको छ । देश भरी विभिन्न ठाउँमा घुम्दै सूचना प्रविधि सम्बन्धी कार्यक्रम गर्दै आएको उनले बताए ।

विद्यार्थीको साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेम सागर ढकाल, प्रधानाध्यापक नारायण आचार्य लगायतले बसको अवलोकन गरे । स्टेन कोशी प्रदेशका अध्यक्ष अभय लिम्बुको पनि कार्यक्रममा उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्