सार्वजनिक मा.वि को ५९ औँ वार्षिकत्सव तथा अभिभावक दिवस सम्पन्न


केराबारी । केराबारी गाउँपालिका वडा नं.७ मा रहेको सार्वजनिक माध्यमिक विद्यालयको ५९ औँ वार्षिकत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शनिवार विद्यालयले आफ्नै प्राङ्गणमा वार्षिकत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।

केराबारी गाउँपालिकाका उपाध्यक्ष मनमाया मगरद्वारा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन भएको थियो । वार्षिकोत्सवको अवसरमा स्वर्गीय सिता देवी ठाडा मगरको सालिक पनि अनावरण गरिएको छ ।

स्व. सिता देवी ठाडा मगर विद्यालयकी संस्थापक हुन । वि.स २०२२ सालमा उनले स्व. पति कृष्ण बहादुर ठाडा मगरको पुण्य स्मृतिमा २ बिघा जग्गा र २ कोठा पाटी भवन विद्यालयलाई प्रदान गरेकी थिइन ।

कार्यक्रममा उपाध्यक्ष मगरले विद्यालयको भौतिक संरचना निर्माण तथा अन्य आवश्यक विकासको लागि गाउँपालिका जिम्मेवार रहने र गर्ने प्रतिबद्धता गरिन । शैक्षिक क्षेत्रको विकासको लागि गाउँपालिका गम्भीर रहेको बताउँदै शिक्षकहरूलाई पनि पठनपाठनमा कुनै कमी हुन नदिन उपाध्यक्ष मगरले आग्रह गरेकी छिन । शैक्षिक विकास र गुणस्तर शिक्षकले नै बालबालिका र गाउँपालिकाको भविष्य निर्माण गर्ने उनले बताइन ।

कार्यक्रममा निवर्तमान उपाध्यक्ष शान्ति लिम्बु भुजेल, खदम क्याम्पस प्रमुख टेकबहादुर थपलिया, वडा नं.७ की वडाध्यक्ष खगेन्द्र निरौला, लगायतको उपस्थिति रहेको थियो । विभिन्न विद्यामा विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ ।

आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन तथा भावी योजना विद्यालयका प्रधानाध्यापक युवराज राईले प्रस्तुत गरे । कार्यक्रमको सञ्चालन नवीन थापाले गरेका थिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोर कुमार राई अध्यक्षतामा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्