इन्जिनियरिङकाे इतिहास मात्रै पढ्ने इन्जिनियरले समाज बदल्न सक्दैन : मुख्यमन्त्री कार्की


विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इञ्जिनियरिङकाे इतिहास मात्रै पढ्ने इन्जिनियरले समाज बदल्न नसक्ने बताएका छन् । नेपाल इन्जिनियर एसोसिएसन काेशी प्रदेशको कार्यालय भवन शनिवार उद्घाटनपछि मुख्यमन्त्री कार्कीले काेशी प्रदेशका इन्जिनियरहरूले प्रयोगात्मक अभ्यास गरेर नयाँ इन्जिनियरिङ सिद्धान्त संसारलाई दिनु आवश्यक रहेको बताएका हुन् ।

´जनतालाई घर, पुल, कम्प्युटर सेवा कस्तो दिने किनकि अहिले सर्वसाधारणकाे दैनिकी नै इन्जिनियरकाे हातमा छ तर त्यो दिन सकेका छौँ,` उनले भने, ´इन्जिनियरिङ इतिहास मात्रै पढ्ने इन्जिनियरले समाज बदल्न सक्दैन । त्यसैले कसैले गरेको अभ्यासले बनेको इतिहासले राम्रो र फरक इन्जिनियर बन्न सक्दैन।`

नेपालको शिक्षा कमजोर छैन त्यसैले गुगल, फेसबुक, नासालगायतका संसारभरका कम्पनीमा नेपाली प्राविधिकहरूले योगदान गरिरहेको मुख्यमन्त्री कार्कीले बताएका छन् । ´काेशीका प्राविधिक जनशक्ति संसारभर उच्च मूल्यमा बिक्री गर्न अब प्रयोगात्मक अभ्यासमा केन्द्रित भएर अध्ययन गर्नु आवश्यक छ,` उनले भने, ´प्रदेशमा भइरहेको विकास निर्माण कामको गुणस्तरीय परीक्षण गरेर इन्जिनियरहरूले प्रयोगात्मक अध्ययन सुरु गरौँ ।`

प्रदेश सरकारबाट पैसा माग्न आएका विद्यार्थीलाई भौतिक निर्माण कार्यको गुणस्तर परीक्षण गरेर रिपोर्ट दिई प्रयोगात्मक अभ्यास गर्न आग्रह गरेको मुख्यमन्त्री कार्कीको भनाइ थियो । ´तुइन मैत्री प्रदेश निर्माणमा इन्जिनियर पढ्ने विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गरेर इन्जिनियरिङ विधामा नयाँ नमुना प्रस्तुत गरौँ त्यसको लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ,` उनले भने, ´तर अहिलेका इन्जिनियरहरू कार्यालय प्रमुख कहाँ गएर ६० प्रतिशत कमिसन दिन्छु, डीपीआरकाे काम दिनु भन्दै मागेर त्यसबाट भएको फाइदाले बेलुका टुच्च लगाएर भ्रष्टाचारी नेता मरी जा ! भनेर सामाजिक सञ्जालमा लेख्छन् ।` के यस्तै इन्जिनियरले समाज परिवर्तन गर्न सक्छ भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गरेका थिए ।

´हावा र फ्राेस्र कुरामा लाइक र कमेन्ट गरेर समय बिताउनु भन्दा प्रदेश कसरी बन्छ, प्रविधिमा कसरी यो प्रदेश अघि बढ्छ भन्ने विषयमा इन्जिनियरलगायतका प्राविधिकहरूले सोच्ने बेला आएको छ,` उनले भने, ´प्रदेश बनाउने विषयमा अध्ययन, अनुसन्धानकाे क्षेत्रमा काम गरेर नयाँ सिद्धान्त प्रतिपादन गर्ने विद्यार्थीका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्छ ।`

प्रतिक्रिया दिनुहोस्