बेलबारी ११ र १० सेमिफाइनलमा प्रवेश : छैठौँ बेलबारी मेयर कप


बेलबारी । बेलबारीमा जारी छैठौँ मेयर कप फुटबल लिगको १३ औँ दिन बेलबारी वडा नं.२ र ११ साथै ६ र १० बिच खेल सम्पन्न भएको छ । बेलबारी २ को खेल मैदानमा वडा नं.२ र ११ को खेल भएको हो भने ६ र १० को वडा नं.१० को भाउन्ने खेलमैदानमा भएको हो ।

बेलबारी २ मा भएको खेलमा २–१ को गोल अन्तर भएको छ । बेलबारी २ ले २ गोल गरेको छ भने ११ ले १ गोल फर्काएको थियो । भाउन्ने खेलमैदानमा वडा नं.१० ले ६ लाई ६ गोल हानेको छ । वडा नं.६ ले भने २ गोल मात्र फर्काउन सके ।

बेलबारी ११ ले आजको खेलमा हार बेहोरे पनि बढी अङ्कको कारण सेमिफाइनलमा प्रवेश गर्ने निश्चित छ । वडा नं.२ र ६ को हकमा भने सेमिफाइनलको यात्रा अन्त्य भएको छ । बेलबारी १० ले पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलको यात्रा टिमले प्राप्त गर्ने अङ्कले निर्धारण गर्ने बेलबारी खेलकुद समितिले जनाएको छ । तर अङ्क बराबरी भए गोलको अन्तरले निर्धारण हुने छ । सोही अनुसार वडा नं.२ र १० को ७/७ अङ्क बराबरी भए पनि वडा नं.२ ले गरेको ४ गोल र खाएको ३ गोल साथै वडा नं.१० ले गरेको ८ गोल र खाएको ३ गोल अन्तरले बेलबारी १० ले सेमिफाइनलको यात्रा सुनिश्चित गरेको हो ।

वडा नं. ६ को न्यून अङ्कको कारण सेमिफाइनलको यात्रा अन्त्य भएको हो । बेलबारी ६ ले ३ अङ्क मात्र प्राप्त गरेको छ । आजको खेलसहित ४ खेलमा वडा नं.६ ले १ खेलमा मात्र जित प्राप्त गर्न सफल भएको छ भने ३ खेलमा हार बेहोरेको छ ।

फुटबल लिग प्रतियोगिताको नियम अनुसार एक खेल जिते ३ अङ्क, बराबरी भए १/१ अङ्क, अङ्कमा बराबरी भए गोलको अन्तरले सेमिफाइनलमा प्रवेश निर्धारण हुने बेलबारी खेलकुद समितिले जनाएको हो । सेमिफाइनलको लागि भोली अन्तिम खेल रहेको छ । भोलीको खेल वडा नं.४ र ८ साथै वडा नं.१ र ३ बिच प्रतिस्पर्धा हुने छ । आयोजकका अनुसार १७ र १८ गते सेमिफाइनल हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्