कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमालेकी रुक्मिणी कोइराला निर्वाचित


मोरङ । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी छिन् । आज (बिहीबार) भएको निर्वाचनबाट माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गर्दै एमालेकी कोइराला निर्वाचित भएकी हुन् । एमालेकी कोइरालाले ५ हजार ८६ मतभार प्राप्त गर्दा माओवादीकी कार्कीले ४,९९२ मतभार पाइन् ।

कोशी प्रदेशमा नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य उम्मेदवार रुक्मिणी कोइरालालाई सत्ता गठबन्धनका तीन सांसदले मतदान गरेका छन् । विराटनगरमा भइरहेको मत गणनाअनुसार प्रदेश सांसदहरूतर्फ सत्ता गठबन्धनका तीन जनाको मत कोइरालालाई परेको हो । मतगणनामा कोइरालालाई ४९ जना सांसदले मत दिएको खुलेको छ ।

कोशीमा एमाले र राप्रपाले गठबन्धन गरेका छन् । कोशी प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ सहित ४६ सांसद छन् । कोइरालाले एमाले–राप्रपा गठबन्धनबाहिरबाट तीन सांसदको मत तानेकी हुन् । कोइरालाको पक्षमा ४९ जनाको मत खसेको छ । सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीले ४४ जना सांसदको पाएकी छन् । कोशीमा सत्ता गठबन्धनका ४७ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्