शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनका लागि तयारी पूरा, भोली उद्घाटन हुँदै


विराटनगर । शैलजा आचार्य हृदय रोग केन्द्र विराटनगर अस्पतालको सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । कोशी प्रदेश सरकारले सञ्चालन गर्न लागेको उक्त अस्पतालको सोमबार बिहान ११ बजे उद्घाटन गर्ने तयारी गरिएको हो । उक्त अस्पतालको उद्घाटन प्रदेश प्रमुख पर्शुराम खापुङ्, प्रतिनिधिसभा सदस्य तथा काँग्रेस नेता शेखर कोइराला र मुख्यमन्त्री केदार कार्कीले संयुक्त रूपमा गर्ने प्रदेश सरकारको तयारी छ ।

मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकबाट चालू आर्थिक वर्षका लागि ल्याएको बजेटमार्फत शैलजा आचार्य हृदय रोग केन्द्र अस्पताल सञ्चालनको घोषणा गरेका थिए । अस्पताल सञ्चालनका लागि चिकित्सक, उपकरण, भौतिक संरचना लगायतका सम्पूर्ण तयारी पूरा भएको प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा। सुधा देवकोटाले बताइन् ।

प्रतिनिधिसभा सदस्य तथा काँग्रेस नेता कोइराला, मुख्यमन्त्री कार्की, प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्य, गणेशराज कार्कीलगायतले उक्त अस्पताल सञ्चालनका लागि गरिएको तयारीको आइतबार अनुगमन गरेका छन् । उनीहरूले अस्पतालसँगै रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको समेत अनुगमन गरेका हुन् । उक्त प्रयोगशालामा नै उक्त अस्पतालमा उपचारका लागि आउने बिरामीहरूको आवश्यक स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरेको हो । अनुगमनका क्रममा काँग्रेस नेता कोइरालालगायतका व्यक्तिहरूले जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्य परीक्षण समेत गराएका थिए ।

अनुगमनपछि कोइरालाले हृदय रोग उपचारका लागि शैलजा आचार्य हृदय रोग केन्द्र उपयुक्त भएको बताएका छन् । उनले यस अस्पतालले काठमाडौं बाहिर बिरामीहरूको हृदय रोगको उपचारको ढोका खुलेको बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका हृदय रोगका बिरामीहरूको उपचार संघीय सरकारको एक लाख र प्रदेश सरकारको एक लाख गरी दुई लाखले निःशुल्क उपचार हुने बताएका हुन् । उनले यो अस्पताल सञ्चालनले कोशी प्रदेशका साथै मधेस प्रदेशका हृदय रोग बिरामीलाई काठमाडौं र भारत धाउनै पर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्