सुन्दरहरैँचा । सुनसरीको इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरले पेट्रोलियमबाट विद्युतीय सवारीमा रूपान्तरण गरेको इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेककर्ण पौडेलले बताए ।
“देशमै पहिलो पटक स्थानीय तहले यो कामको सुरुवात गरेका छौ” नगर प्रमुख पौडेलले भने “पहिलो चरणमा दुई वटा पुरानो मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण सम्याति इलेक्ट्रो व्हील्स प्रालिसँग सम्झौता गरेर गरिएको छ”। सम्याति इलेक्ट्रो व्हील्स प्रालिका सञ्चालक ई. आदित्य आचार्यले पेट्रोलबाट चल्ने मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गर्न सक्षम भएको उल्लेख गरे ।
संघिय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने साथै २० वर्ष अवधि पुगेका सवारी साधनलाई लागतका आधारमा विद्युतीय सवारी साधनमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेको इटहरी उपमहानगरपालिकाका नगर प्रवक्ता दिवस पोखरेलले बताए । उनले केही सुधार गर्ने कुरा भए सल्लाह सुझावको अपेक्षा गरेको उल्लेख गर्दै उपमहानगरमा दिन प्रतिदिन जनताको कामलाई ध्यान दिएर अघि बढेकोले नगर बस सञ्चालन गर्ने समेत तयारी भएको उल्लेख गरे।
इटहरी उपमहानगरपालिकाले खाद्य वस्तुको गुणस्तर परीक्षणका लागि ल्याब स्थापना समेत गरेको छ । खाद्य वस्तुमा मिसावट गरिने अखाद्य वस्तु पत्ता लगाउन इटहरीमै ल्याब स्थापना गरेको नगर प्रमुख पौडेलले बताए । उपमहानगरले खाद्य बस्तुमा अखाद्य वस्तु मिसावट भए नभएको थाहा पाउन परीक्षणका लागि उपमहानगरमै रहेको ल्याबमा परीक्षण हुने उल्लेख गरिएको छ । उपमहानगरमा भौतिक पूर्वाधार प्रयोगशाला स्थापना गरिएकोले पूर्वाधारमा प्रयोग हुने सामाग्रीको सम्पूर्ण ल्याबको व्यवस्था गरिएको इटहरी उपमहानगरपालिकाका प्रेस संयोजक धनबहादुर पुरीले जानकारी दिए ।
इटहरी उपमहानगरपालिकाले नि:शुल्क चिया कफी सहितको नागरिक साहयता कक्ष समेत स्थापना गरेको हुँदा जहाँ नागरिकले आफ्नो काम तथा समस्या बारे भने लगतै कर्मचारीहरूले नै काम गर्ने व्यवस्था गरिएको उपप्रमुख संगिता चौधरिले बताइन् ।