मुख्यमन्त्री कार्कीको गैर आवासीय नेपाली संघलाई आग्रह : नेताहरूलाई मगन्ते नबनाइदिनुहाेस्


विराटनगर । मुख्यमन्त्री केदार कार्कीले गैर आवासीय नेपाली संघलाई नेताहरूलाई चन्दा दिएर मगन्ते नबनाइदिन आग्रह गरेका छन् । गैर आवासीय महासंघद्वारा बुधवार आयोजित प्रदेश सरकारलाई रगत संकलन मोबाइल बस हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले संघले नेताहरूलाई चन्दा दिने काम तत्काल बन्द गरिदिन आग्रह गरेका हुन् ।

´गैर आवासीय नेपाली संघले प्रविधि र सीप दिने हो, नेतालाई चन्दा दिएर मगन्ते बनाउने होइन,` उनले भने, ´चन्दा दिएर नेता र देश बिगार्नु भन्दा देशको अर्थतन्त्र मजबुत बनाउन उद्योग लगाउनु आवश्यक छ ।` अहिले विदेशमा गएर श्रम गर्न जानेहरूलाई नयाँ पार्टी र पुराना पार्टीका नयाँ नेताहरूले एयरपोर्टमा फोटो खिचेर अपमान गर्छन् तर उनीहरूसँग नै विदेशमा चन्दन माग्न जाने गरेको प्रति मुख्यमन्त्री कार्कीले आपत्ति जनाएका हुन् । ´गरिबले विदेशमा महँगो मूल्यमा श्रम बेच्न जाँदा अपमान र हुनेखाने वर्गले आफ्ना छोराछोरीलाई युरोप पठाउँदा सम्मा हुने चलन रहेसम्म देश विकास हुँदैन,` उनले भने, ´सबैको आ-आफ्ना श्रम, सीप र शक्ति हुन्छ । श्रम जहाँ महँगो बिक्छ त्यहाँ बेच्न पाउनु पर्छ । वकिलको श्रम सेवा र मजदुरको श्रम मजदुरी हुँदैन । सबै काम बराबर हुन्छ । अपमान गर्नु हुँदैन ।`

गैर आवासीय नेपाली संघले प्रविधि र सीप लिएर आए काेशी सरकारले पुँजी दिएर उद्योग स्थापनाका लागि काेशी सरकार तयार रहेको मुख्यमन्त्री कार्कीले बताएका हुन् । ´काेशी सरकार उद्योग र उद्योगी मैत्री प्रदेश हो,` उनले भने, ´त्यसैले काेशीमा तपाईँ सीप र प्रविधि लिएर आउनुहोस् पुँजी सरकारले दिन्छ । उद्योगीको सम्पूर्ण सुरक्षाको जिम्मा काेशी सरकारले लिन्छ ।` सरकार र व्यवसायी साझेदारी भन्न मिल्छ ? भन्दै उनले प्रश्न गरेका हुन् । ´सरकारविना व्यवसाय र व्यवसायविना सरकार हुन सक्छ ?` मुख्यमन्त्री कार्कीले भने, ´व्यवसायीले कर तिरेपछि सरकार सञ्चालन हुन्छ र व्यवसायीको समस्या सरकारले निवारण गर्ने भएको दुवै एक अर्कामा आश्रित छ ।`

कुनै पनि देश बन्न साझा एकता चाहिन्छ, विदेशीलाई प्रतिबन्ध लगाएर देश विकास हुन्छ ? भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गरेका हुन् । विदेशबाट आउने कम्पनी र विदेशबाट आउने नेपालीलाई लुट्न खोज्ने प्रवृत्ति रहुन्जेल देश समृद्ध नहुने उनको भनाइ थियो । किरात सभ्यता यो प्रदेशको पहिलो पहिचान भएको मुख्यमन्त्री कार्कीले बताएका हुन् । ´यहाँका पहिचान पक्षधरको माग र मुद्दा सम्बोधनका लागि वार्ता गर्न प्रदेश सरकार तयार छ,` उनले भने, ´छिटोभन्दा छिटो वार्ता गरेर पहिचान पक्षधरको पहिचान स्थापित गराउने योजना कार्यान्वयन गर्नु छ ।`

किरात सभ्यता यश प्रदेशको शिर भयकोले त्यसलाई ठाडो राख्ने काेशी सरकारको पहिलो दायित्व भएको मुख्यमन्त्री कार्कीले बताएका छन् । ´दलका नेताहरूले पहिचान पक्षधरको बारेमा अनेकौँ भाषण दिएर आन्दोलन चर्काउने काम हालसम्म मात्रै गरेका छन् तर पहिचान स्थापित गराउन र माग तथा मुद्दा सम्बोधनका लागि कसैले प्रक्रियासम्म अगाडि नबढाएकाले मैले त्यो काम सुरु गरेको छु,` उनले भने, ´पहिचानवादीको पहिचान स्थापित गराउन खुवालुङ, तुवाचुङ, आत्मानन्द, फाल्गुनन्दलगायतकाे स्थलको विकासका लागि काम अघि बढाएको छु ।`

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समृद्धि भयकोले त्यसलाई यहीका बासिन्दाले जोगाउनु पर्ने उनको भनाइ थियो । ´धरानबाट मान्छे लखेटेर होइन, फकाएर धरानको समृद्धिको यात्रा अघि बढाउनु आवश्यक छ,` मुख्यमन्त्री कार्कीले भने, ´काठमाडौँ र धरानबाट फेसन देशले सिक्ने अवस्थामा ह्रास आउनुमा को दोषी ? धरानवासीका कारण धरान पछि परिरहेको विषयमा यहाँका बासिन्दालाई एक पटक सोच्नै पर्ने बेला आएको छ ।`

गैर आवासीय नेपाली संघले दिएको यो बस मुख्यमन्त्री कार्कीले रेडक्रस शाखा धरानलाई हस्तान्तरण गर्दै यसको सदुपयोग गर्नु आवश्यक रहेको उनले बताए । ´कलिलै उमेरमा विवाह गरेर बच्चा जन्माएपछि रगत बगेर ज्यान गुमाउने दुःख हेरेर बस सहयोग गरेको छ,` उनले भने, ´अब टेण्ट लगाएर रगत संकलन गर्ने बाध्यता अन्त्य भएर हिँड्दा हिँड्दै रगत दिने अवस्था भयो । तर यसको सदुपयोगको चिन्ता छ ।`

प्रतिक्रिया दिनुहोस्