विराटनगरमा पहिलो दिन एभरेष्टको अग्रता : १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता


विराटनगर ।  विराटनगर महानगरपालिकामा अन्तर विद्यालय महानगरपालिका स्तरीय १६ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । जारी प्रतियोगिताको पहिलो दिन दुइटा स्पर्धामा प्रथम हुँदै विराटनगर – ५ स्थित एभरेष्ट मा.विले अग्रता लिएको छ ।

३ माघदेखि ५ गते सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन सम्पन्न फाइनलका दुई स्पर्धामा एभरेष्ट प्रथम भएको हो । सटपुट छात्र र छात्रा दुवै तर्फ एभरेष्टले जितेको हो । छात्रतर्फ एभरेष्टका सुशान्त श्रेष्ठ प्रथम हुँदा सत्यनारायण माविका रोहन शर्मा दित्तिय र मिल्स माविका रुपेश राजवंशी तृतीय हुनुभयो ।

यस्तै सटपुटकै छात्रा तर्फ पनि एभरेष्ट कै आसना गिरी प्रथम हुनुभयो भने सत्यनारायणकी आकृति चौधरी दित्तिय र ग्यालेक्सी माविकी अञ्जलि गुरुङ तृतीय हुनुभयो । यस्तै आजै सम्पन्न १५ सय मिटरको दौडको छात्र तर्फ आदर्श माविका अमर यादव प्रथम हुँदा ग्यालेक्सी माविका रिजन चौधरी दित्तिय हुनुभएको छ । सोही स्पर्धामा छात्रा तर्फ आदर्श मावी अंशुकुमारी मण्डल प्रथम हुँदा विराट बहिरा माविकी विनीता लिम्बू दित्तिय र पोखरीया माविकी ज्योति कामत तृतीय हुनुभएको विराटनगर महानगरपालिका युवा तथा खेलकुद शाखा प्रमुख तारा शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीन दिन सम्म चल्ने प्रतियोगितामा १८ वटा स्पर्धा हुनेछन् । प्रतियोगितामा महानगर भित्रका २० सामुदायिक विद्यालय तथा २३ संस्थागत विद्यालयको सहभागिता रहेको विराटनगर महानगरपालिकाका शिक्षा प्रशासन शाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिनुभयो । भट्टराईको अनुसार प्रतियोगितामा ४३ विद्यालयको १ हजार ५०० विद्यार्थीको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्