सबै जातजातिको भाषा संस्कृतिलाई संरक्षण गर्न नसकिए नेपालीकै पहिचान गुम्छ : गौतम


उर्लाबारी । नेकपा एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल उर्लाबारी नगर कमिटीको आइतबार उर्लाबारी – ३ स्थित पार्टी कार्यालयमा बसेको बैठकलाई सम्बोधन गर्नुहुँदै कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतमले सबै जातजातिको भाषा धर्म, संस्कृति र लिपिलाई संरक्षण गर्न नसकिए सिङ्गो नेपालीकै पहिचान गुम्ने बताएका छन् । उनले सबै जातजातिको भाषा र संस्कृतिको प्रवर्द्धनको जिम्मेवारी सरकारको पनि रहेको उल्लेख गरे ।

प्रदेशसभा सदस्य गौतमले एमालेलाई पहिचान विरोधीका रूपमा भ्रम छर्ने काम भइरहेको बताए । उनले मुख्यमन्त्री हिक्मत कार्की र केदार कार्की नेतृत्वको सरकारले ल्याएको बजेटको तुलना गरेर हेर्न समेत आग्रह गरे । सबै जातजाति र भाषा धर्मलाई सम्बोधन हुने गरी हिक्मत कार्की नेतृत्वको सरकारले ल्याएको योजना र बजेटलाई अहिलेको केदार कार्की नेतृत्वको सरकारले कटौती गर्ने काम गरेको गौतमले उल्लेख गरे ।

गौतमले महासंघको नयाँ नेतृत्वलाई योजनाबद्ध रूपमा कार्यक्रम तयार परेर अघि बढ्न सुझाव दिएका छन् । एमाले नगर कमिटी अध्यक्ष गंगाप्रसाद बास्तोलाले आदिवासी जनजातिको योजना र कार्यक्रमलाई एमाले नेतृत्वको सरकारले मात्र कार्यान्वयनमा लैजान सक्ने बताएका छन् । बैठक अध्यक्ष जयसिंह राजवंशीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्