उर्लाबारी । सामाजिक सञ्जाललाई रिसिइबी साधनको माध्यम बनाई व्यक्तिको मानमर्दन र चरित्र हत्या गर्ने कार्य मौलाएको भन्दै एमाले निकट राष्ट्रिय युवा संघ उर्लाबारी नगर कमिटीले प्रहरीको ध्यानाकर्षण गराएको छ । बुधवार राष्ट्रिय युवा संघ नेपाल उर्लाबारीका अध्यक्ष नितम चौहान र इन्चार्ज केशव घिमिरेको अगुवाइमा युवाहरूले इलाका प्रहरी कार्यालय पुगी प्रहरी निरीक्षक देवेन्द्र दासलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्रमा सामाजिक सञ्जालको प्रयोग गरी केही व्यक्तिले उर्लाबारीका नगरप्रमुख र केही सामाजिक व्यक्तिको निजी जीवनमै धावा बोल्ने, कतैबाट पुष्टि नहुने सामग्री पोष्ट गर्ने गरिएको जनाइएको छ । त्यस्ता सामग्रीले साइबर अपराधको कानुन आकर्षित हुने भएको उल्लेख गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन युवा संघले आग्रह गरेको छ । कसैलाई लाञ्छित गर्नुअघि प्रमाण पेस गर्न युवा संघले सम्बन्धितहरूलाई चुनौती दिएको छ ।
साथै समाज नै दिग्भ्रमित हुने किसिमका सामग्रीहरू पोष्ट नगर्न संघले सबैमा अपिल पनि गरेको छ । ज्ञापन बुझ्दै प्रहरी निरीक्षक देवेन्द्र दासले जो कोही भए पनि सञ्जालका माध्यमबाट व्यक्तिको चरित्रहत्या गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे । प्रहरी कार्यालयमा युवा संघको नगर कमिटीमा आबद्ध युवाहरूसँगै उर्लाबारी ५ का वडाध्यक्ष रविन लामा, संघका नेता डिल्ली खतिवडा, योगराज लाबुङ, सरोज पोख्रेल, केशव रेग्मी, गौरी दाहाललगायतको उपस्थिति रहेको थियो ।