तपस्वी रामबहादुर बम्जनको घरबाट १७ देशको मुद्रा बरामद : नेपाली रुपैयाँ ३ करोड ३ लाख


काठमाडौं । प्रहरीले पक्राउ गरेका तपस्वी रामबहादुर बम्जनको घरमा विभिन्न १७ देशका पैसाको चाङ नै भेटिएको छ । बम्जनको निवासबाट तीन करोड ३४ लाख ६७ हजार ९०६ रुपैयाँ बरामद गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

प्रहरीले २०७६ सालमा नै सर्लाहीमा एक नवबालिकामाथि यौन दुराचार गरेको अभियोग लागेका बम्जनलाई खोजी गर्दै आएकोमा मङ्गलवार बेलुका (हिजो) उनको काठमाडौँको हात्तीगौंडास्थित निवासबाट पक्राउ गर्न सफल भएको थियो । थप अनुसन्धानको क्रममा उनको घरबाट ठुलो धनराशि बरामद गरिएको पनि सिआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले जानकारी दि ए। उनका अनुसार बरामद गरिएका नगद राशिमध्ये १७ देशका विभिन्न मुद्राहरू रहेको र त्यसको नेपाली रकम ३० लाख ९२ हजार ४०६ हुन्छ । त्यसै गरी प्रहरीले उनको घरबाट १४ थान मोबाइल, ५ थान आईप्याड, २ वटा गाडी र ४ वटा मोटरसाइकल पनि फेला पारेको छ ।

एसएसपी आचार्यले भने, ‘लामो अनुसन्धान र प्रयासपछि केन्द्रीय अनुसन्धान ब्युरोद्वारा रामबहादुर बम्जन भनिने रामलाल बञ्जनलाई हिजो बेलुकी हात्तिगौँडाबाट पक्रिन सफल भएका छौँ । विशेष गरेर २०७६ सालमा सर्लाहीमा एक जना नवबालिकालाई बाल यौन दुराचार बलात्कारको केशमा निज रामबहादुर बञ्जनको खोजी भइरहेको अवस्था थियो । यसै सन्दर्भमा विभिन्न मानिसहरू पनि हराइरहेको भन्ने सूचना पनि प्रहरीसँग आएको थियो ।’

उनले भने, ‘निज बम्जनको खोजी केन्द्रीय अनुसन्धान ब्यूरेले लामो समयदेखि गरिरहेको अवस्था हो। र यसै पक्राउको सन्दर्भमा हिजो निजलाई पक्राउ गर्दाखेरी निजको निवासबाट ठुलो संख्यामा नेपाली रुपैयाँ टोटल ३ करोड ३ लाख ७५ हजार ५ सय रुपैयाँ विभिन्न देशका मुद्राहरूको नेपाली रुपैयाँमा कन्भर्ट गर्दाखेरी ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बरामद भएको थियो। र यो नगदको साथसाथै अन्य थुप्रै सामानहरू बरामद गरिएको छ । जसमा मोबाइल १४ थान, आईप्याड ५ थान र निजको साथमा २ वटा गाडीहरू र ४ वटा मोटरसाइकल पनि रहेको पाइएको छ । थप अनुसन्धानको काम पनि भइरहेको छ ।’

ब्युरोले आज पक्राउ परेका बम्जनलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरेको छ । उनीमाथि आफ्ना चेलाहरूको हत्या गरेको आरोप पनि लगाइएको छ । त्यसै गरी बम्जनको घरबाट बरामद भएको १७ देशको विदेशी मुद्रासहितको ठुलो धनराशिबारे पनि थप अनुसन्धान गरी तत्काल कारबाही प्रक्रिया अघि बढाउने सिआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्