बेलबारी । सरकारले सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने बेलबारी नगरपालिका कोशी प्रदेशकै पहिलो स्थानीय तह बनेको छ । सरकारको मुख्य प्राथमिकताको क्षेत्रको रूपमा रहेको सामाजिक सुरक्षा कोषमा आम श्रमिक वर्गलाई जोड्ने सरकारको विशेष योजना अन्तर्गत मोरङ जिल्लाको बेलबारी नगरपालिका अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गर्ने कोशी प्रदेशको पहिलो नगरपालिका बनेको हो ।
बेलबारी नगरपालिका कार्यालयको भवन सोमबार कोषका तर्फबाट कोशी प्रदेश अन्तर्गत विराटनगर शाखा प्रमुख सौरभ मिश्र र बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई बिच, नगर उप–प्रमुख नितु थापा र कोषका तर्फबाट महेश प्रधानको रोहबरमा बेलबारी नगरपालिकामा रहेका अनौपचारिक क्षेत्रका श्रमिकसँगै स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा समेट्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता कार्य सम्पन्न भए पछि नगर प्रमुख राईले नगरपालिका क्षेत्र भित्रका अनौपचारिक क्षेत्र तथा स्वरोजगारका श्रमिकलाई आगामी माघ महिना देखि नियमित रूपमा सहयोग गर्ने बताए । साथै आगामी आर्थिक वर्षको लागि श्रोत व्यवस्थापन गरी पालिकामा कार्यरत अस्थायी तथा करार कर्मचारीलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने कार्ययोजना रहेको जनाएका छन् ।
कोषका तर्फबाट विराटनगर शाखा प्रमुख मिश्रले सामाजिक सुरक्षा कोषमा आबद्ध हुने कोशी प्रदेशकै पहिलो स्थानीय तह बनेकोमा सिङ्गो बेलबारी नगरपालिकालाई बधाई तथा शुभकामना प्रदान गरे । वर्तमान सन्दर्भमा जनताको जीवनयापन तथा आइपर्ने सामाजिक सुरक्षाका विभिन्न समस्याहरूको समुचित सम्बोधन गर्न सामाजिक सुरक्षा अपरिहार्य भएको सुझाव प्रदान गर्नुको साथै बेलबारी नगरपालिकाको यस अभियानले सकारात्मक सन्देश प्रवाह गरेको बताए ।
सोही अवसरमा बेलबारी नगरपालिका नगर क्षेत्रभित्रका अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिक, जनप्रतिनिधि तथा कोषबिचमा कोषमा आबद्धताका सम्बन्धमा तथा कोषका बारेमा त्रिपक्षीय अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न भएको शाखा कार्यालय विराटनगरका सम्पर्क व्यक्ति महेश प्रधानले बताउनुभयो ।