बालेनले भने, ‘यहाँ यलम्बरलाई मानिन्छ । काठमाडौँमा आकाश भैरवलाई ।’


सुनसरी । काठमाडौँ महानगरका मेयर बालेन (बालेन्द्र) शाहले धरानका मेयर हर्क साम्पाङ राईलाई आकाश भैरवको प्रतिमा उपहार दिएका छन् । आज (शुक्रवार) धरान उत्सवको उद्घाटनमा धरान पुगेका मेयर शाहले आकाश भैरवको उपहार दिएका हुन् ।

कार्यक्रममा मेयर शाहले धरान उपमहानगरपालिको प्रशंसा समेत गरेका छन् । धरानको श्रम संस्कृति विश्वका लागि अनुकरणीय भएको उनले बताएका छन् । उनले धरानमा सुरु भएको श्रम संस्कृति देश मात्रै नभएर विदेशमा समेत अनुकरणीय भएको बताए । उनले काठमाडौँभन्दा पनि धरान फेसनमा अगाडि रहेको बताए । ‘धरान डे’ को विशिष्ट अतिथिको रूपमा आएका बालेनले धरानको श्रमसंस्कृति समेत अनुकरणीय रहेको बताए ।

‘धरानका बारेमा सुनिन्थ्यो, धरानका मान्छेहरूले सरकारको बजेट विना बाटो बनाउँछन्, सडक सुकिलो राख्छन्’, शाहले भने, ‘अहिले देखिँदै छ, विश्वभर धरानको नाम सुनिँदै छ ।’ बालेनले भने, ‘यहाँ यलम्बरलाई मानिन्छ । काठमाडौँमा आकाश भैरवलाई ।’ यसअघि पटक–पटक सामाजिक सञ्जालमा दुई मेयरबीच भनाभन हुने गरे पनि यस कार्यक्रममा भने सुमधुर सम्बन्ध देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्