नदीलाई विनाश होइन विकासका लागि अगाडि बढाउनु पर्छ : मुख्यमन्त्री कार्की

केशलिया–वुढिखोला करिडोरमा बाँध निर्माण कार्य सुरु


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीलाई विनाश नभई विकासका लागि अगाडि बढाउनु अपरिहार्य रहेको बताएका छन् । केशलिया–वुढिखोला करिडोर निर्माणका लागि गरिएको विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले यस क्षेत्र भएर बग्ने केशलिया वुढीखोला नदीको शौन्दर्यकरण एवं विकासले यस क्षेत्रका जनताको आर्थिक समृद्धि एवं रोजगारमा वृद्धि हुने बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले करिडोर निर्माणले बर्जू गाउँपालिकामा निर्माण हुने विशेष आर्थिक क्षेत्र(सेज)मा सहज पहुँचले प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुग्ने धारणा राखेका हुन् । उनले सरकारले समृद्धिको पाइला चाल्न जनताको पैसाको सही ठाउँमा सदुपयोग गर्ने अठोट गर्दै प्रदेशको १३७ पालिकाका जनताको जीवनस्तर उकास्नका लागि प्रतिबद्धता जनाए ।

अध्ययन प्रतिवेदन निर्माण कर्ताद्वय महेन्द्र सुब्बा र प्रशान्त मल्लले दुहबी नगरपालिका, वुढीगंगा, बर्जू गाउँपालिका र विराटनगर महानगरपालिकालाई छुने उक्त परियोजनाको लागत रु एक अर्ब ३२ करोड रहेको जानकारी दिए । आगामी तीन वर्षमा सम्पन्न गरिने उक्त परियोजनाले दुहबीदेखि विराटनगर रानीको भारतीय सीमा क्षेत्रसम्म खोलाको दुवैतर्फ ४२ किलोमिटर बाटो निर्माण हुनुका साथै खोलामा बाँध निर्माण र शौन्दर्यकरण गरिने छ ।

मुख्यमन्त्री कार्कीलाई स्विस सहयोग नियोगको सहयोगमा निर्माण गरिएको उक्त प्रतिवेदन राजीव उपाध्यायले हस्तान्तरण गरेका हुन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष राजेन्द्र राउत, पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठ लगायतले परियोजना निर्माणले उद्योग स्थापना एवं विराटनगर विमानस्थलको धावनमार्ग विस्तारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा मुख्यमन्त्री कार्कीले परियोजना अन्तर्गतको नदीमा बाँध निर्माण गर्ने कार्यको आजदेखि सुरु हुने घोषणा समेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्