काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका विमान चालक सम्राट बहादुर शाहविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दा दर्ता गरेको छ ।
शाहविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी उजुरी परेपछि अनुसन्धान गर्दा उनले भारतको सेकेण्डरी एजुकेसन काउन्सिल उत्तर प्रदेशअन्तर्गत भिएसजे इन्टरकलेज सरहरी गोरखपुरबाट सन् २००३ मा इन्टरमिडियट परीक्षा (प्राइभेट परीक्षा) प्रथम श्रेणीमा उत्तीर्णसहितको झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी विमान चालकको हैसियतमा लाभ लिएको पाइएको अख्तियारले जनाएको छ ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार शाहले २०७१ फागुन १० देखि जुनियर क्याप्टेनमा नियुक्ति भई आठौँ तहको क्याप्टेनमा बढुवा हुँदा शैक्षिक योग्यताको नक्कली सर्टिफिकेट पेश गरेको उजुरीको आधारमा छानबिन अघि बढाइएको थियो । आयोगले उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।