निर्माणाधीन अस्पताल भवनमा गुणस्तरहीन सामग्री प्रयोग : संरचना भत्काएर फेरि काम गर्न निर्देशन


खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाले वडा नं ५ चिसापानीमा निर्माणाधीन अस्पताल भवनमा गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएपछि संरचना भत्काउन निर्माण कम्पनीलाई निर्देशन दिएको छ । निर्माणाधीन १५ शैंयाको अस्पताल भवनको जगमा गुणस्तरहीन गिटी र बालुवा प्रयोग गरेको अनुगमनका क्रममा पाइएको भन्दै गाउँ कार्यपालिकाको मंगलबारको बैठकले संरचना भत्काएर फेरि काम गर्न निर्देशन दिएको हो ।

जग सम्म्याएर पिलर ठड्याउने क्रममा गुणस्तरहीन काम भएको स्थानीयले गुनासो गरेपछि अनुगमन गरिएको र गुणस्तरहीन काम भएको निष्कर्षसहित भत्काउन निर्देशन दिइएको गाउँपालिका प्रमुख अरूणादेवी राईले जानकारी दिइन् । ‘करिब दुई वर्षअघि निर्माण सम्पन्न गर्नुपर्ने अस्पताल भवनको हालै पिलर ठड्याउने काम हुँदै थियो । ठेकेदारको लापरबाहीले गुणस्तरहीन संरचना निर्माण भइरहेको रहेछ । गाउँपालिका कार्यपालिकाको बैठक नै बसेर भत्काउन निर्देशन दिएका हौँ,’ अध्यक्ष राईले भनिन्, ‘निर्देशन लगत्तै कम्पनीले निर्माण भत्काउन थालेको छ। गुणस्तरमा लापरबाही गर्ने ठेकेदारलाई निगरानीमा राखेका छौँ ।’

निर्माणाधीन पालिका स्तरीय अस्पताल भवन २०७९ असार २८ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी २०७८ असार २५ गते ड्रागन–रियर जेभीले ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले अस्पताल भवनको काम सिद्धगढी निर्माण कम्पनीलाई पेटी ठेक्कामा दिएको जनाएको छ । अस्पताल भवन निर्माणका लागि कुल २० करोड ७१ हजार पाँच सय ९० रुपैयाँमा सम्झौता भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्