प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु : ईपीएस परीक्षा विषयको प्रदर्शन


काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो । मृतक पुरुष हुन् ।

किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले घाइते भएर ल्याइएका एक पुरुष घाइतेको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे । मृतकको पहिचान खुल्न बाँकी छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको जिल्ला प्रहरी परिसर ललितपुरका एक अधिकृतले जानकारी दिए ।
प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए । यस्तै आगजनीमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । घटनामा केही आन्दोलनकारी घाइते समेत भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्