बेलबारी, १२ पुस । बेलबारीको मुख्य बजार क्षेत्र भित्रका रहेको ३ सुन पसलमा मंगलबार मध्यरातमा एकै रातमा चोरी भएपछि बेलबारी उद्योग वाणिज्य संघले इलाका प्रहरी कार्यालय बेलबारीलाई ध्यानाकर्षण गराएको छ । बिहीबार महासंघले घटनाको सत्यतथ्य सार्वजनिक गरेर चोर पक्राउको लागि माग साथै शान्ति सुरक्षा कायम राख्न सहकार्य गर्ने जानकारी गराउँदै इलाका प्रहरी कार्यालय बेलबारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
बेलबारी वडा नं.१ स्थित न्यु बराइली ज्वलर्स एण्ड कारखाना प्रा.ली, नवरत्न ज्वलर्स, न्यु बराह ज्वलर्समा योजना बद्ध ढङ्गले पसलहरू फोडी लाखौँको धनमाल चोरी भएको हो । चोरी भएको घटना जनाउँदै शान्ति सुरक्षा फितलो भएको उद्योग वाणिज्य संघले जनाएको छ । उद्योग वाणिज्य संघका महासचिव विवेक मिश्रले वाचन गरेर उक्त ध्यानाकर्षण पत्र सुनाएका थिए ।
सुनचाँदी व्यवसायी संघकोसमेत उपस्थितिमा भएको उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ बेलबारीका अध्यक्ष भेष कुमार श्रेष्ठ (अशोक) , सल्लाहकार तिलक प्रसाद राई, लगायत संघका पदाधिकारी सदस्य लगायतले प्रहरी निरीक्षक तेजबहादुर दाहाललाई उक्त ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका थिए ।