एकै दिनमा बेलबारीको ३ सुन पसलमा चोरी


बेलबारी । एकै दिनमा मोरङको बेलबारीमा ३ सुन पसलमा चोरी भएको छ । मंगलबार मध्यरातमा बेलबारी वडा नं.१ स्थित न्यु बराइली ज्वलर्स एण्ड कारखाना प्रा.ली, नवरत्न ज्वलर्स र न्यु बराह ज्वलर्समा चोरी भएको हो ।

न्यु बराइली ज्वलर्स नेत्र प्रसाद दाहालको घरमा डेरा गरी बस्ने छत्र बहादुर विकले सञ्चालन गर्दै आएका थिए । उक्त घरमा रहेको सुन पसल भएको कोठाको उत्तर पश्चिम तर्फको भेन्टिलेसन फुटाई प्रवेश गरेर करिब १ सय थान चाँदीको बुटी (२५ तोला), तामाको बुटी १ सय थान (३ सय ग्राम) र सुनको पोते पेन्डल ४ आना चोरी भएको प्रहरीले जनाएको छ ।

सिसौली चोकमा रहेको ईश्वरी चौलागाईको घरमा डेरा लिई किरण सुनारले सञ्चालन गर्दै आएको नवरत्न ज्वलर्सको कोठाको भेन्टिलेसन फोडी प्रवेश गरेर सुनको जन्तर छापेको ४ आना, काँचो सुन १ तोला ५ आना, चाँदीको विभिन्न समानहरू सिक्री, ब्रासलेट, पाउजु, औँठी, बुटिकका सामाग्री, करुवा, दियो, चम्चा, काँडे चुरा, कल्ली समेत गरी अन्दाजी २ किलो ग्राम चारी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार न्यु बराह ज्वलर्स भएको घरको पछाडिको वाल भत्काइ प्रवेश गरेर चाँदीका समानहरू खड्कुँलो १ थान, करुवा ६ थान, गाग्री १२ थान, बटुका २ थान, चुरा पाउजु, कल्ली कम्मर बेल्ट, औँठी, बिच्छी, लकेट, ब्रसलेटसमेत गरी अन्दाजी ११ किलो ग्राम बराबरको चोरी भएको छ ।

चोरी गर्ने व्यक्तहरूको हुन भन्ने खुल्न सकेको छैन । घटनाको अनुसन्धान साथै चोरको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । चोरीको घटना बारे कुनै जानकारी पाएमा जानकारी गराएर सहयोग गर्न इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख तेज दाहालले आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्