अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा भाग लिन विराटनगरका ११ खेलाडी भारतको आगरा जाँदै


विराटनगर । पुषको १४ र १५ गते (डिसेम्बर ३० र ३१) मा भारतको उत्तरप्रदेश स्थित आगरामा हुने अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिप–२०२३ मा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै विराटनगरबाट ११ जना खेलाडीलाई बिदाइ गरिएको छ । विराटनगर– ११ स्थित बालाजी डोजोका ११ जना खेलाडीसहित प्रशिक्षक र व्यवस्थापकलाई मङ्गलवार एक कार्यक्रमको आयोजना गर्दै मोरङ कराँते महासङ्घले सफलताको शुभकामनासहित बिदाइ गरेको हो ।

खेलाडीहरूलाई नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष एवं कोशी प्रदेश खेलकुद विकास बोर्डका संस्थापक सदस्यसचिव पर्शुराम बस्नेतले टिका खादा लगाएर बिदाइ गर्नुभएको हो । कराँते महासंघ मोरङ अध्यक्ष रुपेश बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पर्शुराम बस्नेतसहित जनपथ माविका व्यवस्थापन समिति अध्यक्ष रोहित कोइराला, विराटनगर– ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, जनपथ माविका प्रधानाध्यापक हरिप्रसाद पराजुली, नेपाल खेलकुद महासङ्घका नेता सुरज श्रेष्ठ, कराँते प्रशिक्षक मेनुका ठाकुरलगायत अभिभावकहरूको उपस्थिति रहेको थियो ।

उक्त प्रतियोगितामा भाग लिन विराटनगरबाट आकृति कोइराला(८), सोनीया वन (१२), आरुषा कोइराला (१२), अन्वेशा न्यौपाने (१३), दुर्गेशकुमार यादव (११), सन्तोषकुमार साह (१५), अमन सहनी (१६), विवेक सिंह (१७), पंकज साह (१७), आलोक ठाकुर (१८) र विशाल चौधरी (२४) खेलाडीहरू जान लाग्नुभएको हो । उहाँहरूसँगै प्रशिक्षकद्वय भुवन कट्टेल र मेनुका ठाकुर तथा व्यवस्थापक अजय ठाकुर भोली (बिहीबार) त्यसतर्फ प्रस्थान गर्नुहुने छ । च्याम्पियनसिपमा खेलाडीहरूले विभिन्न स्पर्धामा भाग लिने प्रशिक्षक ठाकुरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्