निर्माण व्यवसायीको मागलाई कार्यान्वयन गर्ने मेयर खरेलको प्रतिबद्धता


उर्लाबारी । उर्लाबारीस्थित स्वतन्त्र निर्माण व्यवसायी मजदुर संघले विभिन्न ८ बुँदे माग राखी उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेललाई मागपत्र बुझाएको छ । स्वतन्त्र निर्माण व्यवसायी मजदुर संघका अध्यक्ष भगिराज खड्का ‘युवराज’को नेतृत्वमा मेयर खरेललाई मागपत्र बुझाइएको हो ।

मागपत्र बुझेसँगै मेयर खरेलले निर्माण व्यवसायी मजदुर संघको टोलीसँग अन्तरक्रिया गर्नुभएको थियो । उर्लाबारी क्षेत्रमा निर्माणकर्मीको समस्या, निर्माण क्षेत्रमा रहेका बेथिति, भवन आचारसंहिता कार्यान्वयनमा उदासीनता देखिएको जनाइ कार्यक्षेत्रमा काम गर्दा हुने दुर्घटना र दुर्घटनापश्चात् आकस्मिक उपचारमा हुने आर्थिक अभाव, व्यवसायजन्य स्वास्थ्य र सुरक्षाका साथै अप्रावासी कामदारको अतिक्रमण, ज्यालामा विभेदलगायतको अनेकौँ समस्या अवगत गराउँदै निर्माण व्यवसायी मजदुर संघले नगरपालिकाको ध्यानाकर्षणसमेत गराएको छ ।

निर्माण व्यवसायीलाई वडाले नभएर नगरपालिका कार्यालयबाटै प्रमाणपत्र दिइनुपर्ने, प्राविधिकले तोक लगाइसकेपछि मात्र व्यावसायिक प्रमाणपत्र दिइनुपर्ने माग अघि सारेको संघले निर्माण व्यवसायीको मान्यता पाउन अनिवार्य तालिम गरेको प्रमाण, उर्लाबारी बसोबासको हकमा घर र जग्गाको धनिपुर्जा, डेरामा बसोबास गरेको भए बहाल तिरेको रसिद, घरवालाको उपस्थितिका साथै संघमा आबद्धता हुनुपर्ने माग राखेको छ ।

यस्तै, नगरपालिकाले प्रथम चरणको इजाजतपत्र दिइसकेपछि मात्रै निर्माण कार्यको सुरु हुने व्यवस्था मिलाइयोस् भनी माग राखेको छ । नगरपालिकाले प्रथम चरणको इजाजतपत्र दिँदा निर्माण व्यवसायी (ठेकेदार)को अनिवार्य हस्ताक्षर हुनुपर्ने व्यवस्थाको माग समावेश गरिएको छ । यसै गरी उर्लाबारी नगरपालिकाभित्र भवन निर्माण कार्य गर्दा व्यवसायीले जुनसुकै तहको प्रमाणपत्र पेश गरे पनि स्थानीय पालिकामा सूचीकृत भएको हुनुपर्ने तथा नगरपालिकाको प्राविधिक शाखा र स्वतन्त्र निर्माण व्यवसायी मजदुर संघ दुवैतर्फको संयुक्त अधिकार सम्पन्न भवन आचारसंहिता अनुसार कार्य क्षेत्रमा काम भएको वा नभएको हेर्ने अनुगमन समिति बनाइनुपर्ने भनिएको छ ।

संघले अनुगमन गरी मापदण्ड विपरीत निर्माण कार्य गरेको भेटिएमा नगरपालिकाले प्राविधिक टोली खटाइ निर्माणाधीन संरचनाको अनुगमन गरेर मूल्याङ्कन गरी सम्बन्धित निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याइनुपर्ने माग गरिएको छ । मङ्गलवार नगरपालिकाको सभाकक्षमा भएको अन्तरक्रिया तथा छलफलमा निर्माण व्यवसायीका माग सम्बोधन गर्न मेयर खरेलले प्रतिबद्धता व्यक्त गर्दै कार्यान्वयनमा लैजान भवन तथा बस्ती विकास शाखाका कर्मचारीलाई आवश्यक निर्देशन दिनुभएको थियो ।

छलफलमा नगरपालिकाको तर्फबाट मेयर खरेल, प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौला, अधिकृत मुरारी घिमिरे, भवन तथा बस्ती विकास शाखाका प्रमुख हिमांशु देव, इन्जिनियर राजेन्द्र थापा ‘नवीन’, कर्णबहादुर बिसी, कर्मचारी हुकुमचन्द्र आचार्य तथा संघका तर्फबाट अध्यक्ष खड्काका अलावा सचिव बुलन पासवान, निर्माण व्यवसायीहरू तेजन राजवंशी, हरि नेपाली, पसपति श्रेष्ठलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्