बेलबारीमा रहेको कोशी प्रदेश प्रहरी अस्पताल गोप्य रूपमा इनरुवा सरो


बेलबारी । मोरङको बेलबारीमा रहेको कोशी प्रदेश प्रहरी अस्पताल गोप्य रूपमा सरेको छ । बेलबारी नगरपालिका वडा नं.३ मा रहेको कोशी प्रदेश प्रहरी अस्पताल रातारात गोप्य रूपमा सुनसरीको इनरुवा सरेको हो ।

अस्पताल सरेको जानकारी स्थानीय सरकारलाई नै थाहा छैन । बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईलाई अस्पताल बारे प्रश्न गर्दा कुनै जानकारी बिना अस्पताल सरेको बताएका छन् । नगर प्रमुख राईले भने, ‘स्थानीय सरकारलाई कुनै जानकारी बिना किन र कसरी सरो, यो अचम्मको विषय हो, अस्पतालको व्यवस्थापनको लागि संरचना मर्मतसम्भार, रङरोगन, बस्ने भाडाको रकम सबै नगरपालिकाबाट गर्दी रहेको थियौ । तर गोप्य रूपमा स्थानीय सरकारलाई बेवास्ता गरेर नगरवासीलाई चोट पुराएर गलत कार्य भएको छ ।’ पितृ शोकमा परेका नगर प्रमुख राई संखुवासभा मूल घर गएका थिए । राईका अनुसार प्रहरीले माग गरे बमोजिम नगरपालिका २ बिघा जग्गाको व्यवस्थापनमा लागेको थियो । तयारीको अन्तिम अवस्थामा रहेको नगर अस्पतालमा प्रहरी अस्पताल सञ्चालन गर्न सकिन्छ की भन्ने सल्लाह पनि भइरहेको नगर प्रमुख राईले बताए ।

(पहिलेको, २०७९ फागुन १० गतेको तस्बिर)

(अहिलेको, शिलालेख उक्काएर लगे पछिको सोही स्थानको २०८० मङ्सिर २७ गतेको तस्बिर)

तामझामको साथ लाखौँको लगानीमा २०७९ फागुन १० गते तत्कालीन प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्वारा प्रादेशिक प्रहरी अस्पतालको उद्घाटन भएको थियो । तर एक वर्ष नपुग्दै उक्त अस्पतालका सरेको छ । अहिले बेलबारीमा कोशी प्रदेश प्रहरी अस्पतालको बोर्ड मात्र रहेको छ । सबै स्वास्थ्य उपचारका सामाग्रीहरू सुनसरीको इनरुवामा सारिसकेको छ । उद्घाटन गर्दा राखिएको शिला लेख पनि निकालेर लगिसकेको छ । गोप्य गरी अस्पताल सारेको थाहा पाए पछि स्थानीय आक्रोशित भएका छन् । कसैले राजनीतिक दलका नेताहरूलाई दोष दिँदै छन् भने कसैले स्थानीय सरकारको कमजोरी हो भन्दै छन् कोहीले कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाको निजी इन्ट्रेस्ट भनेका छन् ।

(पहिलेको, २०७९ फागुन १० गतेको तस्बिर)

(अहिलेको, अस्पताल सरे पछिको सोही स्थानको २०८० मङ्सिर २७ गतेको तस्बिर)

इनरुवा नगरपालिकाका पूर्व नगर प्रमुख राजन मेहताले आफ्नो कार्यकालमा प्रादेशिक प्रहरी अस्पताल इनरुवा लैजाने योजना बनाएका थिए । तर इलाका प्रहरी कार्यालय बेलबारी वडा नं.२ को नयाँ भवनमा सरे पछि खाली भएको बेलबारी ३ को भवनमा प्रहरी अस्पताल स्थापना गरिएको थियो । मेहता अहिले जिल्ला समन्वय समिति सुनसरीको प्रमुख हुन । स्रोतका अनुसार काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की मार्फत अस्पताल इनरुवा सार्ने दबाब आएको थियो ।

डीआईजी बास्तोलाले प्रादेशिक अस्पताल सार्दा नगरपालिकासँग समन्वयन गर्नु पर्ने आवश्यकता नरहेको बताएका छन् । बेलबारी वडा नं.३ मा रहेको अस्पतालको संरचना र ठाउँ साँघुरो भएकोले इनरुवास्थित जिल्ला समन्वय समितिको भवनमा सारेको बास्तोलाले बताएका छन् ।

उनले भने, ‘वडाको जस्तो, नगर अस्पताल जस्तो हैन, यो प्रादेशिक अस्पताल हो । पायक पर्ने र फराकिलो ठाउँमा सारेको हौँ । फराकिलो ठाउँको लागि पटक पटक आग्रह गरेकै हो, साहारा नेपालका भवन माग्दा पनि पाएनौ, उपलब्ध नभए पछि सञ्चालन गर्न साँघुरो भएर सार्नु परेको हो ।’

(पहिलेको, २०७९ फागुन १० गतेको तस्बिर)

(पहिलेको, २०७९ फागुन १० गतेको तस्बिर)

(अहिलेको, अस्पताल सरे पछिको सोही स्थानको २०८० मङ्सिर २७ गतेको तस्बिर)
प्रतिक्रिया दिनुहोस्