एमालेको अभियान रोक्न पहिचान पक्षधरका नाममा गठबन्धन दलका नेताहरू लागिपरेको छ : ओली


ओखलढुङ्गा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार साम्प्रदायिकता भड्काउन लागिपरेको आरोप लगाएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ अभियानका क्रममा ओखलढुङ्गाको हर्कपुरमा सम्बोधन गर्दै उनले सरकार सामाजिक सद्भाव बिगार्न लागिपरेको बताए । एमालेको अभियान रोक्न पहिचान पक्षधरका नाममा गठबन्धन दलका नेताहरू नै लागिपरेको उनले बताए ।

एमालेको अभियान कसैका विरुद्ध नभएको बताउँदै उनले पहिचान पक्षधरलाई भावनामा नबग्न आग्रह गरे । सद्भाव कायम गरेर राष्ट्रिय एकता कायम गरेर मात्र देश बनाउन सकिने उनको भनाइ छ । ‘राजनीतिक मतभेद हुन सक्छन्, ती हल गर्ने संवैधानिक बाटाहरू छन् । सँगै बसेर छलफल गरेर समाधान निकाल्न सकिन्छ, उचालिएर भावनामा नबग्नुस्,’ उनले भने ।

संवैधानिक बाटाहरू प्रयोग गरेर सबै खाले मतभेदहरू हल गर्न सकिने उनले बताए । पहिचान पक्षधरको निषेधको राजनीतिप्रति कटाक्ष गर्दै उनले सरकार साम्प्रदायिकता भड्काउनेहरूलाई प्रोत्साहन गर्न लागेको र त्यही आडमा केही अराजक गतिविधि भइरहेको बताए । उनले देशलाई ब्युँझाउन, उठाउन र राष्ट्रिय एकता कायम गर्न मध्यपहाडी पदयात्रा अभियान ल्याइएको बताए ।

प्रतिक्रिया दिनुहोस्