रणनीतिक महत्वको लेटाङ ६ नं. बुधबारे सडकको मुख्यमन्त्री कार्कीद्वारा शिलान्यास


लेटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले २९.६० लम्बाइको लेटाङ ६ नं. बुधबारे सडकको शिलान्यास गर्नुभएको छ । शुक्रवार पूर्वाधार विकास कार्यालयले लेटाङमा आयोजना गरेको सडक शिलान्यास समारोहमा मुख्यमन्त्री कार्कीले रणनीतिक योजनाको सडकको शिलान्यास गर्नुभएको हो ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका र धनकुटाको चौबिसे गाउँपालिका साथै इलाम तथा ताप्लेजुङका स्थानीयलाई समेत प्रदेशको राजधानी विराटनगर आउन छिटो पर्ने सडक रणनीतिक योजनाको सडक भएको मुख्यमन्त्री कार्कीले शिलान्यास समारोहमा बताउनुभयो । उहाँले भन्नुभयो, ‘सडक निर्माणपछि त्यस भेगका कृषि उत्पादन बजारसम्म पु¥याउनका साथै उत्पादनमा लाग्ने साधन श्रोतलाई किसानसम्म पु¥याउनका लागि महत्त्वपूर्ण हुन्छ ।’

अब अन्य आयोजनाको छनौट गरेर आवस्यक्ताका आधारमा निर्माण हुने बताउँदै मुख्यमन्त्री कार्कीले सम्पन्नता गर्ने ग्यारेन्टी सहित योजना छनौट हुने बताउनुभयो । कार्यक्रममा सहभागी वक्ताहरूले समयमै निर्माणको कार्य सकेर जनतालाई सेवा दिनुपर्नेमा जोड दिएका छन् ।

सो सडकको सन्तोषी–जोया एण्ड ब्रोदर्स जेभीले २०८३ वैशाख २८ गते सम्पन्न गर्ने गरी ८७ करोड तीन लाख ५३ हजार २७ रुपैयाँ ७० पैसामा ठेक्का सम्झौता गरेको छ । निर्माण व्यवसायीका सञ्चालक भीम पौडेलले समयमै गुणस्तरीय काम गरेर सडक हस्तान्तरण गर्ने बताउनुभयो ।

भौतिक पूर्वाधार विकाश मन्त्रालय कोशी प्रदेशका सचिव रमेश कुमार सिंहको सभापतित्वमा भएको कार्यक्रममा सम्बन्धित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूका साथै सरोकार बाला निकायको समेत सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्