‘अवैध रूपमा सुन भित्रिँदै छ भन्ने सूचना केही दिन अघिनै प्राप्त भएको थियो’ : टेकराज पाण्डे


काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख टेकराज पाण्डेले नेपालमा अवैध रूपमा भित्रिँदै छ भन्ने सूचना पहिले नै पाएको बताएका छन् । आज (शुक्रवार) पत्रकार सम्मेलन गर्दै पाण्डेले त्रिभुवन विमानस्थलबाट करिब १० किलो सुन भित्रिँदै छ भन्ने सूचना केही दिन अघि नै सूचना प्राप्त भएको बताएका हुन् ।

विमानस्थल भन्सार कार्यालयले गए राति ११ः४० बजे फ्लाइ दुबई एफजेड ५७३ बाट आएका चन्द्र घलेलाई १४ किलो सुनसहित पक्राउ गरेको थियो । उनले ज्याकेट बनाएर त्यसमा सुन लुकाएर ल्याएका थिए । यसअघि पाएको सूचनाको आधारमा भन्सार कर्मचारीहरूले विमानस्थलबाटै पछ्याएर पक्राउ गरेको पाण्डेले बताए । सुनसहित गए राति एयरपोर्टबाट पक्राउ परेका गोरखाका चन्द्र घले दुबईबाटै निगरानीमा रहेको खुलेको छ । भन्सार विभागमा सूचना आएपछि उनको रेकीका लागि एउटा टोली नै दुबई पठाइएको थियो ।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले सुन तस्करीको विशेष सूचना केही दिनअघि नै आएको बताए । उनले भने, ‘हामीलाई नेपालमा सुन तस्करी भएर आउन लागेको विशेष सूचना आएको थियो । ५ दिनअघि नै इन्टेलिजेन्ट प्रयोग गरेर घलेलाई दुबईमा नै रेकी गरेका थियौँ ।’ बुधवार नै नेपाल फर्किने टिकट काटे पनि घलेले त्यो जहाजमा उच्च पदस्थ कर्मचारी आउने चाल पाएपछि क्यान्सिल गरेर बसेको पौडेलले बताए । ‘उनले सुन अरू कसैलाई देलान् भनेर नै विमानबाट नै पक्राउ गरिएको हो । भन्सारले यति ठुलो परिणाममा सुन समाएको पहिलो पटक हो’, उनले भने ।

उनीबाट ७ वटा बिस्कुट आकारको सुन बरामद गरेको थियो । उनले उक्त सुन गोरखाका मीनबहादुर घलेको बताएका थिए । त्यसपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो । उक्त सुन प्रकरण प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा छानबिन समिति बनेको छ । उनीसहित ६ जनाको छानबिन समितिलाई ६ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्