काठमाडौं । एनसेलको शंकास्पद शेयर खरिद बिक्री प्रकरणविरुद्ध सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सिंहले शुक्रवार एनसेलको सेयर खरिद बिक्रीलाई मान्यता नदिन माग गर्दै विभिन्न ६ वटा निकायलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाएर रिट दायर गरिएको छ । रिटको प्रारम्भिक सुनुवाइका लागि आइतबार पेशी तोकिएको छ ।
सात वर्षअघि एक खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको मलेसियाको आजियाटा कम्पनीले हालसालै नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई जम्मा ६ अर्ब ५० करोडमा बिक्री गरेको छ । उक्त बिक्री कर छली र ६ वर्षपछि सरकारीकरण हुने क्रममा रहेको एनसेलको सम्पत्तिलाई रोक्नका लागि गरिएको आरोप एनसेलमाथि लाग्दै आएको छ ।