‘विप्लव’ सहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी : प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । आज (सोमबार) सिंहदरबारमा आयोजित केही सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले विप्लवसहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘जे भयो गलत भयो । सरकारले विप्लवहरूसँग सम्झौता गरिसकेको छ । सहमति गरेर उनीहरू शान्ति प्रक्रियामा आइसकेका छन् । शान्तिपूर्ण राजनीतिमै भएको हुनाले उनीहरूलाई फेरि फर्काएर अप्ठ्यारो पार्न हुँदैन । सबै बुझेर थप कुरा पछि आउँछ’ प्रधानमन्त्रीले भने ।

गत मङ्सिर १० गतेको आदेशअनुसार अदालतले विप्लवसहितका शीर्ष नेतालाई सोमवार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८(१३) ३५ दिनको पक्राउ पुर्जी जारी गरेको छ । विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश ओली, माइला लामा, राजु कार्की विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको हो ।

विप्लव समाजवादी मोर्चामा सहभागी छन् । २०७४ को निर्वाचनअघि राज्यविरुद्ध भूमिगत विद्रोह गरेको नेकपाले २०७६ साल फागुनमा सरकारसँग सम्झौता भएपछि शान्तिपूर्ण राजनीतिमा आएको हो । सम्झौताबमोजिम मुद्दा फिर्ता लिन नेकपाका नेताहरू सरकारलाई लगातार दबाब दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्