बैकमा किर्ते गर्दा प्रहरी जवान पक्राउ


जलेश्वर,कात्तिक २९ । नेपाल प्रहरीमा कार्यरत एक प्रहरी जवानले राष्ट्रिय वाणिज्य बैङ्कमा चेक किर्ते गरी बढी रकम निकालेको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा विगत तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदीलाई जिल्ला प्रहरी कार्यालयमा पक्राउ गरी राखिएको छ ।

महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैङ्क जलेश्वर शाखामा आफ्नै नामको तीन हजार र चार हजारको अर्को चेक गरी जम्मा रु.७ हजारको चेक बैङ्कमा माथिल्लो कोठाबाट सदर गरी पुनः रु.३ हजारका स्थानमा रु.३० हजार र रु.४ हजारको स्थानमा रु.४० हजार लेखेर सो बैङ्कबाट रु.७० हजार प्रहरी जवानले निकालेका थिए ।

बैङ्कमा बिहीबार बेलुका हिसाब मिलान गर्दा हिसाब नमिलेपछि सबै चेकलाई जाँचबुझ गर्दै जाँदा प्रहरी जवान द्विवेदीले आफ्नै दुवै चेकमा केरमेट गरेको भेटिएपछि बैङ्क प्रबन्धक शिवशंकर यादवले राति नै महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीलाई सो कुराको जानकारी दिएका थिए ।

किर्ते र ठगी गर्ने प्रहरी हुन लायक नरहेको बताउँदै प्रहरी जवान द्विवेदीलाई कारवाहीस्वरुप निलम्बन गरिने प्रक्रिया अगाडि बढाइएको अधिकारीले बताए छन् ।

प्रतिक्रिया दिनुहोस्