क्यान्सर पीडित सुसनलाई उपचारार्थ रकम रु.१ लाख ६९ हजार हस्तान्तरण


बेलबारी । बेलबारी नगरपालिका वडा नं.१ का क्यान्सर पीडित सुसन धिमालको परिवारलाई ढुकुरे युवा संघले रु.१ लाख ६९ हजार उपचारार्थ रकम हस्तान्तरण गरेको छ । शनिवार ढुकुरे युवा संघ, बेलबारीले सुसनको बुवा कटक बहादुर धिमाललाई हस्तान्तरण गरेका हो ।

सुसन धिमाल बचाउ उद्देश्यले तिहारमा देउसी भैलो खेलेर सङ्कलन भएको पैसा उपचारको लागि हस्तान्तरण गरेको सुमन धिमालले जनाएका छन् । सुमन सुसन धिमाल अभियानको देउसी भैलो कार्यक्रमको संयोजक हुन ।

सुसन २० वर्ष मात्र पुगेका छन् । तर उनी मृत्युसँग लडाई लडिरहेका छन् । आर्थिक अभावको कारण अहिले सुसनको उपचारको लागि बुवा कटक सहयोगको अपिल गरिरहेका छन् । ढुकुरे युवा संघ, बेलबारीका युवाहरूले अभावमा गरेको सहयोग ठुलो आशा र राहत भए पनि पूर्ण उपचारको लागि भने पर्याप्त होइन ।

उपचार रकम हस्तान्तरण कार्यक्रममा बेलबारी वडा नं.१ का अध्यक्ष मणि मगरले ढुकुरे युवा संघको प्रशंसा गर्दै अरू युवाहरूले पनि देउसी भैलो खेलेर रमाइलो गर्ने संस्कार भन्दा उपकार र सेवाको भावमा गर्ने सामाजिक कार्य प्रति अग्रसर हुने शिक्षा लिन आग्रह गरे । मगरले अरूले पनि सुसनको उपचारको लागि सहयोग गर्न आग्रह गरेका छन् ।

शिक्षक तथा सुसन धिमाल अभियानको देउसी भैलो कार्यक्रमका व्यवस्थापक मनकुमार गुरुङले पूर्ण उपचारको लागि थप रकम आवश्यक पर्ने हुँदा आर्थिक सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । अहिले बुबा कटकले पनि आँखा भरी आशु रसाउँदै सहयोगको अपिल गर्न बाहेक केही विकल्प भेटेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्