“बहुआयामिक व्यक्तित्व रमेश लामा” स्मृतिग्रन्थ सार्वजनिकीकरण कार्यक्रम सम्पन्न


बेलबारी । “बहुआयामिक व्यक्तित्व रमेश लामा” स्मृतिग्रन्थ सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ । रमेश लामा स्मृति प्रतिष्ठानको आयोजनामा बेलबारी नगरपालिकाको सभा हलमा स्वर्गीय रमेशकुमार तामाङको “बहुआयामिक व्यक्तित्व रमेश लामा” स्मृतिग्रन्थ सार्वजनिकीकरण कार्यक्रम बुधवार सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा पूर्व सांसद हर्कमान तामाङले रमेश लामाको देहान्तले अतुलनीय क्षति नेपाली समाजले बेहोर्नु परेको उनले बताए । उनले “बहुआयामिक व्यक्तित्व रमेश लामा” स्मृतिग्रन्थको प्रकाशनसँगै बेलबारीले इतिहास साहित्यको पनि थालनी गरेको बताए ।

स्मृतिग्रन्थले रमेश लामाको भौतिक रूपमा नभए पनि सबै उनको पक्षलाई केलाउने र झकझकाउने हर्कमान तामाङ बताउँछन् । स्मृतिग्रन्थबाट रमेश लामाको बारेमा मात्रै नभएर, बेलबारी समाज, तामाङ समाज, नेपाली समाजको बारेमा जान्न सकिने उनले बताए । उनले भने, ‘यो पुस्तक रमेश कुमार तामाङको अध्ययन हो, बेलबारीको अध्ययन हो, तामाङहरूको अध्ययन हो, नेपालको, नेपाली समाजको अध्ययन हो, मानव जातीको अध्ययन हो ।’

नेकपा (एमाले) कोशी प्रदेश कमिटीका अध्यक्ष तथा पूर्व सांसद घनश्याम खतिवडाले कार्यक्रमलाई सम्बोधन गर्दै बेलबारी निर्माणमा रमेश लामाको महत्त्वपूर्ण योगदान रहेको बताए । रमेश लामाको विचार र जीवनबाट युवा पुस्ताले सिक्नु पर्ने खतिवडा बताउँछन् । खतिवडाले भने, “रमेश लामाले राजनीतिलाई पेसा बनाउनु हुँदैन है भन्नु हुन्थ्यो । आजको पुस्ताले रमेश लामाको यो कुरा सिक्नु पर्छ ।” विगतका सङ्गतका घटना र उत्तरी मोरङको बाटोहरू निर्माणका सङ्घर्षकाबारे बताउँदै खतिवडाले लामाको सम्झना गरे ।

कार्यक्रममा संविधानसभा सदस्य मधु गुरुङ, बेलबारी नगरप्रमुख दिलप्रसाद राई, उपप्रमुख नितु थापा, वरिष्ठ कवि अनिल पौडेल लगायतको विशिष्ट आतिथ्य रहेको थियो । स्मृतिग्रन्थको सम्पादक ईरान राई हुन ।

सम्पादक राईले कार्यक्रममा पुस्तकबारे जानकारी गराउँदै रमेश लामाको बेलबारीको मात्र नभएर नेपालको लागि नै शिक्षा, स्वास्थ्य, समाजसेवा, भाषा, साहित्य, सङ्गीत, संस्कृति, राजनीति र खेलकुद क्षेत्रका अतुलनीय योगदान रहेको बताए । पुस्तकमा लामाका बारे ६५ जनाले लेखकले लेखेका छन् ।

कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष तथा रमेश लामाकी श्रीमती सावित्रा राई तामाङको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन साहित्यकार रमेश निरौलाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्