नेपालमा भारतीय चोरीको गाडी बेच्दै


काठमाडौँ, २९ कात्तिक । भारतबाट गाडी चोरी गरी नेपालमा ल्याएर बेच्ने मुकुन्द पुडासैनी र दीपकबहादुर बुढा (दीपेन्द्र) लाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।

भारतको विभिन्न स्थानबाट चोरीको गाडी नेपाल ल्याएर बेच्ने गोरखाको सुलिकोट गाउँपालिका–७ घर भई हाल काठमाडौँको गोलढुंगा बस्ने ३४ वर्षीय पुडासैनी र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ घर भई हाल काठमाडौँको काभ्रेस्थली बस्ने ३९ वर्षीय बुढा पक्राउ परेका छन् भने यसका ठुलो गिरोह रहेको प्रहरीले बताएको छ ।

प्रहरीले नेपालमा ल्याएर बेचेका चार वटा गाडीसमेत नियन्त्रणमा लिएका छन् । बा १८ च ३१३८ नम्बरको एस फोर स्कारपियो, बा २१ च ८७१४ नम्बरको एस–सेभेन स्कारपियो, बा ११ च ९७४९ नम्बरको फरच्युनर र डी एल २ सी ए जेड ७७९९ भारतीय नम्बरको क्रेटा गाडी काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका छन् ।

सो गाडीहरू यातायात कार्यालयमा दर्ता नभएको, कतिपय वर्कसप सञ्चालकसँग मिलेमतो गरेर नेपाल भित्राउने र काल्पनिक च्यासिस नम्बर समेत खोपेर यातायात कार्यालयबाट कागजात बनाउने गरेको कालीमाटी प्रहरी प्रमुख रुगम कुँवरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्