‘बोराबाँध बेलबारी भेट्रान फुटबल प्रतियोगिता’ को उपाधि विराटले चुम्यो


बेलबारी । बेलबारी नगरपालिका वडा नं.६ मा ‘बोराबाँध बेलबारी भेट्रान फुटबल प्रतियोगिता २०८०’ को उपाधि विराट भेट्रान विराटचौक, सुन्दरहरैँचा फुटबल टिमले चुमेको छ । श्री वीरेन्द्र मा.वि खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेलमा विराटले घुम्ती भेट्रान लेटाङलाई पराजित गर्दै उपाधि हात पारेको हो ।

विराटले ३–२ गोल अन्तरले लेटाङलाई पराजित गरेको हो । विराटको तर्फबाट जर्सी नं.७ का खेलाडी दिपेन गिरीले पहिलो हाफको १२ मिनेटमा पहिलो गोल गरे । तर लेटाङको तर्फबाट पहिलो हाफमा गोल हुन सकेन ।

दोस्रो हाफको ७ मिनेटमा विराटका जर्सी नं.१६ का खेलाडी पुरस्कार धिमालले गोल गर्दै टिमलाई २–० गोल अन्तरले अग्रता दिलाएका थिए । जर्सी नं.२० का खेलाडी उत्तम कुमार खवासले ८ मिनेटको अन्तरमा गोल गर्दै विराटको ३ गोलको अग्रता रह्यो ।

तर दोस्रो हाफमा लेटाङका जर्सी नं.१२ का खेलाडी विशाल लिम्बुले १ गोल फर्काए । खेलको अन्तिम समयमा पुनः दोस्रो गोल गरे । तर विराटसँगको ३–२ गोल अन्तरमा लेटाङले उपविजेतामा चित्त बुझाउन परेको छ ।

विजेताले रु.३१ हजार र उपविजेताले रु.२१ हजार नगद पुरस्कार प्राप्त गरेको छ । कार्यक्रममा प्रमुख अतिथि तथा सांसद तथा पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीद्वारा नगद पुरस्कारको साथै ट्रफी, मेडल र प्रमाणपत्र दुवै विजेता र उपविजेता टिमलाई हस्तान्तरण गरियो ।

म्यान अफ दि म्याच विराटका खेलाडी दिपेन गिरी घोषित भएका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी विराटका सन्तोष राई घोषित भए । लेटाङका खेलाडी विशाल लिम्बु सर्वाधिक गोलकर्ता घोषित भएका छन् ।

खेलकुदले देशको नाम विश्वमा परिचित गराउन सकिने एक बलियो माध्यम रहेको बताउँदै, खेल क्षेत्रको विकासको लागि सक्ने सहयोग गर्ने सांसद मोदीले प्रतिबद्धता गरेका छन् । भेट्रान खेलले नयाँ पुस्तालाई खेल कलाको शिक्षा प्रदान गर्ने बताए । साथै स्थानीय क्षेत्रको पुर्वधार विकासको लागि पहल गरेका कामबारे जानकारी पनि प्रदान गरे ।

क्लबका अध्यक्ष सुमनका अनुसार युनाइटेड भेट्रान विराटनगर र एभरेष्ट भेट्रान मोरङ, घुम्ती भेट्रान लेटाङ, हाम्रो इटहरी भेट्रान इटहरी, ग्रामथान भेट्रान, पाराबारी भेट्रान शिवसतासी झापा, विराट भेट्रान विराटचौक र आयोजक टिम गरी ८ टिमको प्रतियोगितामा सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्