जीवन बचाउ उपचार सेवा गृहको अध्यक्षमा पवन थापा


उर्लाबारी । सुधार केन्द्रका नामले ख्याति कमाएको उर्लाबारी ७ मा अवस्थित जीवन बचाउ उपचार सेवा गृहको अध्यक्षमा पवन थापा चयन भएका छन् । उर्लाबारी ७ निवासी थापा सेवा गृहका यसअघि कोषाध्यक्ष रहेका थिए । संस्थाको १८ औँ वार्षिक साधारणसभाले थापाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो ।

कार्य समितिको उपाध्यक्षमा दीपेन्द्रकुमार दास, सचिव सुरेन्द्र कार्की, सहसचिव विवश बुढाथोकी र कोषाध्यक्षमा मञ्जु परियारलाई चयन गरिएको छ । यस्तै, अम्बिका निरौला, हेमप्रसाद लिम्बू, बबिता निरौला, कुमार तामाङ, लक्ष्मण गुरुङ र ताङ्साङ सम्वाहाम्फे लिम्बूलाई सदस्यमा चयन गरिएको निर्वाचन समितिले जानकारी दिएको छ ।

यसै गरी लेखा समिति संयोजकमा गोपाल गौतम, सचिव सुवास अधिकारी र सदस्यमा देवेन्द्र बस्नेतलाई चयन गरिएको संस्थाका इन्चार्ज रवीन्द्रप्रसाद दाहालले बताए । शनिवार संस्थाको सभा हलमा साधारणसभा उद्घाटन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सांसद उमाकान्त गौतमले युवाहरूलाई कुलतबाट अलग गर्न गृहले खेलेको भूमिकाको प्रशंसा गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपमेयर मिना खतिवडा पौडेल, उर्लाबारी ७ नम्बर वडाध्यक्ष उर्मिला थापा, माओवादी केन्द्र उर्लाबारीका अध्यक्ष गजेन्द्र दंगाल, समाजसेवी जयधर्म आचार्य, रुद्रबहादुर तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष शेखर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा उनले प्रगति प्रतिवेदन र कोषाध्यक्ष पवन थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । २०६२ सालदेखि उर्लाबारीमा सञ्चालनमा आएको गृहले हालसम्म २७ सयभन्दा बढी लागूपदार्थ एव मादक पदार्थविरुद्धको उपचार एवं मानसिक परामर्श प्रदान गरी सकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्