थरिथरिका परिकार पस्कँदै बगैँचा सेकुवा घर सञ्चालनमा


मिलन के राउत – उर्लाबारी । उर्लाबारी चौक पूर्व, थानाको ठिक उत्तर राजमार्गसँगै चिटिक्क परेको एउटा होटेल देखिन्छ । यो हो ‘बगैँचा सेकुवा घर ।’ सर्वसाधारणदेखि ‘एलिट वर्ग’ सम्मका ग्राहकलाई फास्ट फुड, नास्ता र खाना ग्रहण गर्न सहज हुने किसिमले होटेल खोलिएको सञ्चालकहरूको भनाई छ ।

मानिसहरू स्वादिष्ट भोजनका साथै उपर्युक्त वातावरणको पनि खोजीमा रहेको अवस्थालाई ध्यानमा राखी सेकुवा घर सञ्चालनमा ल्याइएको उनीहरूको भनाई छ । सोमबारबाट बगैँचा सेकुवा घर सञ्चालनमा आएको हो । लामो समय होटेल व्यवस्थापनको अनुभव सँगालेका स्थानीय युवा दिलकुमार लिम्बू र दिनेश ढकालले बगैँचा सेकुवा घर सञ्चालनमा ल्याएका हुन् ।

मूलतः सेकुवा घर नाम दिइए पनि होटेलको मेनुमा सेकुवा मात्रै नभएर मासु र माछाका अन्य परिकारहरू पनि समावेश गरिएको छ । सञ्चालक लिम्बूका अनुसार मटका चिया, कुखुराको फिला र पखेटाको सेकुवा, मटन तथा चिकन मटका परिकार होटेलका विशेषता हुन् । कुखुरा, खसी र माछाबाहेक अन्य प्राणीको मासु वर्जित गरिएको होटेलमा मासु खाजा सेट, म:म, चाउमिन, थुक्पा र अर्डर अनुसार खाना पनि तयार हुने बताइएको छ ।

पेय पदार्थ र हुक्का सेवन सेवासमेत उपलब्ध गरिएको सञ्चालक दिनेश ढकालको भनाई छ । चिकेन र खसीको सेकुवा उपलब्ध गराइएको छ । सेकुवा पारखीका लागि किलोको हिसाबले सेकुवा खुवाउने व्यवस्था गरिएको उनले बताए । एक पटकमा सय जना ग्राहकले खानपिन गर्न सक्ने किसिमले होटेलको व्यवस्थापन गरिएको जनाउँदै व्यवस्थापकीय रूपमा होटेलको किचन सरसफाइमा उतिकै ध्यान दिइएको ढकालले बताए ।

‘होटेलको किचनमा हरेक परिकारलाई फरक फरक राखिएको छ। हामी ग्राहकलाई सन्तुष्ट बनाएर पठाउने प्रयास गर्छौँ । एक पटक आएका ग्राहक फेरि पनि आउन् भन्ने हाम्रो चाहना हुन्छ । हामी ग्राहकको रुचि अनुसारको परिकार तयार गरेर सेवा दिन्छौँ’ उनले भने ।

अन्यत्र भन्दा सस्तो दरमा परिकारको मूल्य समायोजन गरिएको उनको दाबी छ । अनुभवी र दक्ष कुक, वेटर ग्राहकलाई परिकार ‘सर्भ’ गर्न हरदम तयार रहने ढकालले जानकारी दिए । फराकिलो कोठा र वातानुकूलित व्यवस्था रहेको बगैँचा सेकुवा घरमा नामजस्तै सजावट गरिएको छ । कोठाका भित्ता भित्तामा आकर्षक तवरले फूलहरू सजाइएको छ । गमलाका प्राकृतिक फूलहरूले बिछट्टै रौनक थपिएको त्यहाँ पुग्ने जो कोहीलाई आभास मिल्छ ।

पार्किङको पर्याप्त सुविधा रहेको उक्त सेकुवा घरमा रमणीय, पारिवारिक वातावरणमा स्वच्छ, स्वस्थ, हाइजेनिक परिकारहरू पाइने सेकुवा घर सञ्चालकद्वयले जानकारी दिएका छन् । समग्रमा बगैँचा सेकुवा घरको चिनारी ‘चाहेको खाजा नास्ता छिटो, त्यो पनि सुलभ मूल्यमा’ उपलब्ध हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्