आगलागी घटनाका गम्भीर घाइतेलाई थप उपचारको व्यवस्था मिलाउन माग गर्दै उर्लाबारीमा चक्काजाम


उर्लाबारी। उर्लाबारी आगलागी घटनाका गम्भीर घाइतेलाई थप उपचारको व्यवस्था मिलाउन माग गर्दै उर्लाबारीमा चक्काजाम गरिएको छ । गत कार्तिक २६ गते लक्ष्मीपूजाको राती १०ः४५ बजेको समयमा उर्लाबारी वडा नं. ७ निवासी दीपक कार्कीको घरमा रहेको स्नेहा ज्वेलर्समा आगलागी हुँदा ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।

घाइतेमध्ये ३ जनाको उपचारको क्रममा मृत्यु भएपछि स्थानीयवासीले गम्भीर घाइतेको थप उपचारमा सरकारको ध्यानाकर्षण गराउन सांकेतिक रूपमा १० मिनेट चक्काजाम गरिएको उर्लाबारी वडा नं. ७ का सरोज बस्नेतले जानकारी दिनुभयो । ‘पूर्वपश्चिम राजमार्ग अन्तरत उर्लाबारीको मावा खोलामा १० मिनेट सवारी साधन अवरुद्ध गराएर सरकारको ध्यानाकर्षण गराउन खोजिएको हो’ उहाँले भन्नुभयो–‘घाइतेमध्ये ६ जनाको आइसियुमा उपचार भइरहेको छ, उहाँहरूको अवस्था गम्भीर रहेको कुरा डाक्टरबाट आएको छ । त्यसैले थप उपचार होस् ।’

कार्यक्रममा उर्लाबारीका सामाजिक व्यक्तित्व बिरबल थापा, बलबहादुर घिसिङ, घनश्याम भण्डारीलगायतले बोल्दै गम्भीर घाइतेको थप उपचारमा सरकारले ध्यान दिनु पर्नेमा जोड दिनुभएको छ । इलाका प्रशासन कार्यालय उर्लाबारी, इलाका प्रहरी कार्यालय उर्लाबारी र उर्लाबारी नगरपालिकालगायतमा ज्ञापन पत्र समेत बुझाइएको उर्लाबारी–७ का टिका सिम्खडाले जानकारी दिनुभयो ।

आइसियुमा उपचाररत उर्लाबारी–७ का शिवकुमार विक (राजीव), विक्रम साह, प्रकाश लिम्बू, रुकुमबहादुर कार्की, कविराज दाहाल र राम नरेश मरिताको थप उपचारका व्यवस्था मिलाउन तीनै तहका सरकारसँग जोडदार माग गरिएको छ । अन्य घाइतेहरूको समेत अवस्था हेरी थप उपचारका लागि भारतलगायत विभिन्न मुलुकमा लैजाने व्यवस्था मिलाउन आग्रह गरिएको छ । मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहतको व्यवस्था मिलाइदिन पनि सबै पक्षसँग आग्रह गरिएको सञ्चार क्लब नेपालका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्