दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ ले भोलिबाट काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ ले भोलिबाट काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने भएको छ । पहिलो दिन बल्खुमा प्रदर्शन गरेको प्रसाईँ समूहले भोलि तीनकुनेमा गर्ने भएको हो ।

आज भने तीनकुनेमा नेकपा एमालेको भ्रातृ सङ्गठन युवा संघ नेपालले प्रदर्शन गरेको थियो । पहिलो दिन उपत्यकाका विभिन्न ८ ठाउँबाट प्रसाईँ नेतृत्वको अभियानले र्‍याली निकालेको थियो ।

उक्त र्‍याली बल्खुमा पुगेर कोणसभामा परिणत भयो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउका लागि भन्दै प्रसाईँ समूहले प्रदर्शन गरेको हो ।

बल्खु चोकमा बालियो टायर

मेडिकल व्यवसायी दुर्गा प्रसाईँको ‘राष्ट्र बचाउ महाअभियान’ का समर्थकले काठमाडौँको बल्खुमा टायर बालेका छन् । आज (बिहीबार) का लागि निर्धारित कार्यक्रम बिथोलिएको आक्रोशमा उनीहरूले बल्खु चोकमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।

प्रशासनले प्रदर्शनका लागि तोकिदिएको बल्खु क्षेत्रमा लगातार दुई पटकसम्म झडप भएपछि पूर्व निर्धारित तालिका बिथोलिएको हो । आज (बिहीबार) उपत्यकाका विभिन्न आठ ठाउँबाट आएको र्‍याली बल्खुमा कोणसभामा परिणत हुने र त्यहाँ प्रसाईँलगायतले सम्बोधन गर्ने कार्यपालिका थियो । पूर्व निर्धारित उक्त कार्यक्रम बिथोलिएपछि प्रसाईँ समर्थकले टायर बालेर विरोध गरेका हुन् । उनीहरूले नाराबाजीसहित बालेको टायर प्रहरीले फालेको छ ।

प्रतिक्रिया दिनुहोस्