टिकटक बन्द गरेर सरकारले तानासाही प्रवृत्ति देखायो, निर्णय सच्याइनुपर्छ : सांसद शर्मा


काठमाडौं । सत्ता साझेदार दल नेपाली काँग्रेसका सांसद डा.सुनिल शर्माले टिकटक बन्द गर्ने निर्णय गरेर सरकारले नागरिकको वाक स्वतन्त्रता माथि अङ्कुश लगाउने काम गरेको बताएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि सांसद शर्माले सामाजिक सञ्जालमार्फत यसको विरोध जनाएका हुन् ।

सामाजिक सञ्जालको प्रयोगमा नियमन गर्नुको साटो प्रतिबन्ध लगाएर सरकारले तानासाही र अधिनायकवादी शैली प्रदर्शन गरेको सांसद शर्माको ठहर छ । ‘नेपालमा टिकटक बन्द गरेर सरकारले नागरिकको वाक स्वतन्त्रतामाथि अङ्कुश लगाएको छ । सामाजिक सञ्जालको प्रयोगमा नियमन गर्नुको साटो सरकारले प्रतिबन्ध लगाउनु लोकतन्त्रमा नागरिकको “अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रता” माथि अङ्कुश लगाएको प्रष्ट हुन्छ,’ सांसद शर्माले लेखेका छन्, ‘प्रचण्ड सरकारको यो चरम तानासाही र अधिनायकवादी शैली हो, नेपाललाई उत्तर कोरिया सम्झने सरकारको गलत मनोवृत्ति हो । यसको म घोर आपत्ति र भर्त्सना गर्दछु ।’

सूचना तथा सञ्चारको प्रयोग र मिडियामाथि अङ्कुश लगाउने कार्यमा सरकार उद्धत देखिएको भन्दै उनले यो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । सूचना प्रविधिको गलत प्रयोग गर्नेहरूलाई ऐन कानुन बनाएर नियमन र निरुत्साहित गर्नुपर्ने उनको भनाई छ । ‘नागरिकको अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रता प्रति सरकार गम्भीर र जिम्मेवार बन्नै पर्छ । नागरिकको मौलिक हक अधिकारमाथि प्रतिबन्ध लगाएर सरकारले नागरिकलाई हतोत्साहित गर्न खोजेको छ । यो निर्णयले प्रजातन्त्र र लोकतन्त्र कमजोर बनाउने बाटोमा सरकार हिँड्न खोजेको प्रस्ट हुन्छ । म सरकारसँग टिकटक बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन अनुरोध गर्दछु,’ सांसद शर्माले लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्